Mon, 20 May, 2019


‘मि टु’ अर्थात् म पनि
फरकधार / बैशाख २०, २०७६

महिलाहरूले आफूमाथि भएको यौन दुव्र्यवहारविरुद्ध आवाज उठाउनका लागि सुरु गरेको ‘मि टु’ अभियानले यतिबेला भारतमा चरम रूप लिएको छ भने नेपालमा पनि छिटपुट रूपमा देखिन सुरु गरेको छ । नेपालमा केही महिलाले आफूमाथि भएको दुव्र्यवहारलाई ‘मि टु’ ह्यासट्याग प्रयोग गरेर ट्विटरबाट सार्वजनिक गर्न थालेका छन् । 

‘मि टु’ को प्रवेश हुनुभन्दा अगाडि पनि बेलाबेलामा महिलाहरू आफूमाथि भएको यौन दुव्र्यवहारको विरुद्धमा बोल्दै आइरहेका थिए । तर, ‘मि टु’ ह्यासट्याग अभियान सुरु भएपछि महिलामाथि भएका यौन दुव्र्यवहारका घटना सार्वजनिक हुने क्रम बढेको छ । 

नेपालमा यसको प्रभाव त्यति धेरै परिसकेको त छैन तर भारतमा भने यो अभियान र यसबाट अहिले परिरहेको र भविष्यमा पर्ने प्रभावका बारेमा बहस निकै चर्किएको छ । पछिल्लो समयमा भारतमा चलचित्रकर्मी तनुश्री दत्ताले मिटुकै माध्यमबाट आफूमाथि १० वर्षअघि भएको यौन दुव्र्यवहारलाई सार्वजनिक गर्दै प्रहरीमा नाना पाटेकरविरुद्ध किटानी जाहेरी नै दिएकी छन् । यो विषयलाई भारतमा गम्भीरतापूर्वक हेरिएको छ । अर्का चलचित्र निर्देशक विकास बहललाई नायिका कंगना रनावत र अर्की चलचित्रकर्मीमाथि यौनशोषण गरेको आरोप लागेको छ । भारतमा ‘मि टु’ आँधी नै बनेर पसेको छ । 

भारतमा वैदेशिक मामिलाका राज्यमन्त्री एमजे अकबरमाथि ‘मि टु’ कै माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । भारतमा महिला राजनीतिज्ञहरूको समेत मतभिन्नता छ । भारतमै पत्रकार प्रशान्त झालाई दुव्र्यवहारको आरोप लागेपछि छानबिन नसकिउन्जेलसम्मका लागि हिन्दुस्तान टाइम्सले ब्युरो चिफ तथा सम्पादकलाई पदमुक्त ग¥यो । 

मिटु अभियानकै क्रममा श्रीलंकाका क्रिकेटर लसिथ मलिङ्गा पनि मुछिएका छन् । बलिउडकी गायिका चिन्मयी श्रीपदाले ट्वीटरमा मलिङ्गाबाट पीडित भएकी एक महिलाको कथा सार्वजनिक गरिन् । 

जर्मन लेखक अलि क्यानले ‘मि टु’ लाई वर्ण विभेदसँग जोडे । उनले जुलाईदेखि वर्णविभेदको विरुद्धमा ‘मि टु’ मार्फत ट्विट गरेका थिए । 

‘मि टु’ अभियान सन् २००६ मा तारना बुर्केले माई स्पेसबाट सुरु गरेकी हुन् । सन् २०१७ मा हलिउड अभिनेत्री एलिसिया मिलानोले प्रयोग गरेपछि अहिले विश्वभर चर्चित बनेको छ । 

हलिउडका चलचित्र निर्माता हार्वे वेइनस्टेनलाई लगभग सयजना महिलामाथि बलात्कार गरेको तथा नायिकाहरूलाई यौनशोषण गरेको आरोप लाग्यो । जसका कारण उनलाई ओस्कार कमिटीबाट निस्कासन गरिएको थियो ।  

त्यसो त ‘मि टु’ सुरु हुनुभन्दा अगाडि नै सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार भएपछि उनीमाथि करिब २० जना महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए । ट्रम्पले यस विषयप्रति महिलाहरूले नै आफूसँग यौन प्रस्ताव राख्ने गरेको प्रतिक्रिया जनाएका थिए । 

सन् १९८० को समयदेखि ट्रम्पले गरेका अनुचित क्रियाकलापका बारेमा महिलाले जब ट्रम्पले अमेरिकाको राष्ट्रपति चुनावका लागि उम्मेदवारी दिएका थिए तब ती सबै महिला ट्रम्पविरुद्ध बोलिरहेका थिए । 

अर्की भारतीय चर्चित मोडल तथा टेलिभिजनकर्मी पद्मलक्ष्मीले पनि आफूमाथि १६ वर्षको उमेरमा ‘डेट रेप’ भएको खुलाएकी थिइन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सल्लाहकार क्यालियेन क्यान्वेले पनि आफू किशोरावस्थामा कंग्रेसका सदस्यबाटै यौन दुव्र्यवहारको सिकार भएको बताएकी थिइन् । 

अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनकी छोरी पट्टी डेविसले केही दिनअघि मात्र आफू ४० वर्षअघि एक संगीतकारबाट बलात्कृत भएको खुलाएकी थिइन् । त्यस घटनाबाट आफू अझै पनि मानसिक रूपमा विक्षिप्त रहेको बताएकी थिइन् ।

द इन्डिपेन्डेन्ट पत्रिकाले अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले दुव्र्यवहारविरुद्धका केसहरू खारेज गर्न लागेकाले उनले ६५ वर्षको उमेरमा यो कुरा खुलाएको पनि बताइन् । 

अमेरिकामै अर्को एउटा ठूलो दुव्र्यवहारको घटना सार्वजनिक भयो जब ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट कवानफलाई नियुक्त गरे । प्रोफेसर डा. क्रिस्टिन ब्लेसी फोर्डले ब्रेटले आफूमाथि १७ वर्षको उमेरमा ‘सेक्सुअल मिस कन्डक्ट’ गरेको आरोप लगाएकी छन् । जसले अमेरिकाको न्यायपालिका र कार्यपालिका दुवैलाई विवादित बनाएको छ । 

विश्वमै एकपछि अर्को गर्दै दुव्र्यवहारका घटना सार्वजनिक भएका छन् । लैंगिक हिंसाविरुद्ध विश्वले अपनाएको शून्य सहनशीलताको सिद्धान्तलाई थप बलियो बनाउँछ ‘मि टु’ अभियानले । आजसम्म दुव्र्यवहार नभोगेकाले भोलि भोग्दैनन् भन्न सकिँदैन । हुन त दुव्र्यवहारका विरुद्ध आवाज उठाउनका लागि ‘मि टु’ नै कुर्नु त नपर्ने हो तर बलियो ‘ब्याक सर्पोट’ नहुँदा हाम्रा कुरा सबै हावामै बिलाउने अवस्था थियो । 

नेपालमा केही समयअघि संगीत क्षेत्रका महिलाहरूले कार्यक्षेत्रमा आफूमाथि भएको यौन दुव्र्यवहार सार्वजनिक गरेका थिए । उनीहरूले कार्यक्षेत्रमा हरेकले यौन शोषण सहन बाध्य भएको कुरा सार्वजनिक गर्दा नेपालमा त्यसले ठूलै हलचल ल्याएको थियो । तर पनि उक्त मुद्दा यत्तिकै हरायो । 

पछिल्लो समय नेपालमा लागू भएको नयाँ फौजदारी मुलुकी संहिताले यौन दुव्र्यवहारलाई छुट्टै महलमा राखेर दण्डनीय बनाएको छ । यसभन्दा अगाडिको मुलुकी ऐनमा आसय करणीको महलअन्तर्गत दुव्र्यवहारलाई राखिएको थियो । संहिताको दफा २२४ मा आफ्नो पति–पत्नीबाहेक अरू कसैले पनि मञ्जुरीविना संवेदनशील अंगमा छोए, छुन प्रयास गरे, भित्री वस्त्र खोल्न लगाए, खोले, अस्वाभाविक रूपमा जबरजस्ती एकान्त ठाउँमा लगेमा, आफ्नो यौनांग छुन लगाएमा त्यसलाई यौन दुव्र्यवहार मानिने उल्लेख गरेको छ । 

कुनै पनि व्यक्तिसँग अश्लील किसिमका शब्दहरू मौखिक, लिखित, सांकेतिक रूपमा प्रयोग गरेमा, विद्युतीय माध्यमबाट अश्लील हर्कत गरेमा वा यौनका आसयले अवाञ्छित, अमर्यादित, अस्वाभाविक रूपले जिस्क्याउनुलाई यौन दुव्र्यवहार मानिने उल्लेख गरेको छ । यस्तो दुव्र्यवहार गरेको प्रमाणित भएका तीन वर्ष जेल र ३० हजार रूपैयाँ जरिवानाको सजायसमेत संहिताले तोकेको छ । 

हामी पितृसत्ताविरुद्ध लडिरहेका छौं । हामीमाथि पुरुषले गर्ने अन्याय, अत्याचार र दुव्र्यवहारको विरुद्धमा लडिरहेका छौं । हामी लामो समयदेखि संक्रमणकालमा गुज्रिरहेका छौं । करिअर, समाज, संस्कार, परिवारलगायतका पक्षलाई एकैपटक सन्तुलन मिलाएर अगाडि बढाउँदा दुव्र्यवहार, हिंसाको सिकार हुनुपरेको छ । 

भारतमा यसलाई नकारात्मक मान्नेहरू पनि छन् । उनीहरू भन्छन्– प्रत्येक पुरुषले यौन दुव्र्यवहार गर्छन् भन्ने सोच्नु गलत हो । भारतीय पत्रकार निधि राजदानले भारतमा पछिल्ला दिनहरूमा केही मानिसहरूको सम्बन्ध बिग्रन गएपछि मिटुलाई हतियार बनाएर प्रयोग गरिएको समेत देखिएको बताएका थिए । यस्तो गर्दा जो वास्तविक पीडित हुन्, उनीहरूको पीडालाई समेत विश्वास गर्न नसकिने आधारहरू तयार भएका छन् । 

‘मि टु’ अभियान एउटा आन्दोलनको स्वरूप त हुन सक्ला, पीडा अभिव्यक्त गर्ने माध्यम त बन्न सक्छ तर यो अभियान एक किसिमले गैरजिम्मेवारीसमेत देखिन्छ । एउटा ट्विटका आधारमा जोमाथि पनि आरोप लगाउन सक्ने अवस्था सिर्जना भएको छ । 

महिलाहरूले बोलेका र लेखेका दुव्र्यवहारका सवालहरू सबै सत्य त होलान् तर त्यसलाई प्रमाण नपुग्दासम्म कानुनले पनि केही गर्न सक्ने अवस्था हुँदैन । तर, केही महिला नियोजित रूपमा पनि कसैको व्यक्तिगत रिसिइबीका कारण पनि प्रयोग भए भने यसले समाजमा ठूलो असर पु¥याउँछ । आरोप लगाएकै भरमा कोही कसैको पदप्रतिष्ठा गुम्ने अवस्था आउँदा यसले अर्को समस्या उत्पन्न गराउँछ । घटनाले अरू दुर्घटना ल्याउन सक्छ । 

भारतमा मार्च महिनामा जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसरलाई छात्राहरूले लगाएको आरोप पछि गलत रहेको प्रमाणित भएको थियो । भारतीय पत्रकार उदितराज भन्छन्, ‘जेएनयु प्रोफेसरलाई पहिले आरोप लगाए र पछि उनी निर्दोष साबित भए, तर कसैले उनी निर्दोष भएको विषयलाई महत्व दिएनन्, जति उनलाई लगाइएको आरोपलाई महत्व दिए ।’ 

एउटा ट्वीटको भरमा १०–१५ वर्षअघि भएको दुव्र्यवहारको अनुसन्धान गरेर सत्यता पत्ता लगाउनु अत्यन्त चुनौतीपूर्ण छ । तर, यसले आरोपित व्यक्तिको छवि, प्रतिष्ठा र आत्मसम्मानमा गहिरो चोट पु¥याउँछ । 

यौन दुव्र्यवहारविरुद्ध उजुरी गर्न पाउने, अनुसन्धान गर्ने सबै विषयलाई समेटेर एउटा कार्यविधि बनाउनु आवश्यक देखिन्छ । कतिपय सन्दर्भमा ‘मि टु’ अव्यावहारिक पनि छ । कोही व्यक्तिमाथि लगाइएको आरोपले क्षणभरमै उसको प्रतिष्ठा कमजोर हुन्छ । तर, पछि ऊ निर्दोष प्रमाणित भयो भने उसको पक्षमा बोल्ने कोही हुँदैन । उसले गुमेको प्रतिष्ठा फिर्ता पाउन सक्दैन, यस्तो गम्भीर अवस्थाको जिम्मेवारी कसले लिने ? 

पछिल्ला समय ‘मि टु’ अभियानको नाममा सार्वजनिक भएका दुव्र्यवहारका घटनामा उच्च तहका व्यक्ति जोडिइरहेका छन् । पछिल्लो समयमा पुरुषहरूमा भयको वातावरण समेत सिर्जना भएको छ । 

कुनै पनि युवती आफ्नो जीवनकालमा एक व्यक्तिबाट मात्र यौन दुव्र्यवहारको सिकार भएका हुँदैनन् । पटकपटक घर, समाज, कार्यालय, शिक्षालयमा हामी दुव्र्यवहार सहिरहेका छौं । सुनियोजित तरिकाले हामीमाथि अनावश्यक प्रोपागाण्डा रचिएका हुन्छन्, गसिप बनाइएका हुन्छन् । हाम्रा क्रियाकलापमा खोट देखाइएका हुन्छन् । 

यही कारण कैयौंपटक मानसिक तनावले ग्रस्त बनिरहेका हुन्छौं र कतिपयले आत्महत्यासमेत गरेका उदाहरण छन् । तर प्रत्येक पुरुषले यौन दुव्र्यवहार गर्छन् भन्ने मानसिकता हामीले हटाउनुपर्छ । र, आफूमाथि भएका यौन दुव्र्यवहारका विरुद्ध आवाज उठाउनुपर्छ । हामी खुल्नुपर्छ । हामीले प्रतिकार गर्नुपर्छ ।
 


यो पनि नछुटाउनुहोस्