चाडपर्व नजिकिएसँगै खाद्य वस्तुको मूल्य तीव्र गतिमा बढ्ने गरेको छ । उपभोक्ता दैनिक उपभोग्य वस्तुको अभाव साथै महंगीको सामना गरिरहेका हुन्छन् । यस्तो समस्याको अन्त्यका लागि सरकारले बर्सेनि ‘सुपथ मूल्य पसल’ खोल्ने गरेको छ । त्यहाँ बाहिरभन्दा कम मूल्यमा उपभोग्य वस्तु बिक्री गर्ने गरिन्छ ।
सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६५ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गरेको बताइन् । काठमाडौं उपत्यकाका थापाथली, रामशाह पथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् ।
‘यस वर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल हामीले असोजको ३ गतेदेखि सुरु गरेका हौं र यो कार्यक्रम माघको २ गतेसम्म सञ्चालन गर्ने तयारी छ । पसलहरूमा दैनिक उपभोग्य सामानहरू दाल, तेल, नुन, चिनी, जस्ता खाद्य वस्तुहरू सुपथ मूल्यमा विक्री वितरण गर्ने गरेका छौ । यस वर्ष देशभर करिब ४२ वटा जिल्लाका ३५ वटा स्थानहरुबाट पसलहरू सञ्चालन गरिरहेका छौँ । यसमा पनि काठमाडौं उपत्यकामा चारवटा कम्पनीका आफ्नै बिक्री केन्द्रहरूबाट सञ्चालन भएका छन् भने दुईवटा पालिकासँगको समन्वयमा सञ्चालन गरेका छौँ । यसमा दक्षिण्काली र चाँगुनारायण रहेका छन्,’ सूचना अधिकारी न्यौपानेले भनिन् ।

उनका अनुसार दसैँ–तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो दश रुपैयाँसम्म छुट पाउने पनि सूचना अधिकारी न्यौपानेको भनाइ छ ।
उनले भनिन्, ‘कम्पनीबाट निर्धारण हुने मूल्य भनेको बजार मूल्यलाई नै पनि ध्यानमा राखेर नै निर्धारण गर्छौ र मूल्य बजार मूल्यभन्दा केही हदसम्म कम नै रहेको हुन्छ । त्यसमा पनि चाडपर्व लक्षित सहुलियत मूल्य पसल भन्दै गर्दा खाद्य वस्तुअनुसार पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म प्रतिकेजी, प्रति लिटरमा छुटको व्यवस्था गरेको हुनाले बजारको मूल्य भन्दा कम नै छ ।’
साथै, सरकारले नेपाल भित्रै उत्पादन भएका सामानलाई बढी प्राथमिकता दिएको र पसलमा राखिने सबै सामान देशभित्रकै उत्पादन भएको भन्दै हिमाली भेगबाट च्याङ्ग्रा र त्यहाँको रैथाने बाली ल्याएको साथै तराई भेगबाट खाद्य ल्याएर विक्री गर्ने गरेको सुवेदीको भनाइ छ ।
उनले बिक्रीका लागि राखिएको सामानको गुणस्तर मापदण्डभित्र नै रहेको र यसको निरन्तर अनुगमन पनि हुने भएको हुनाले सरकारले बिक्री गर्ने सामानको गुणस्तर राम्रो रहेको बताइन् ।
यसको साथै गुणस्तरहीन सामान विक्री भएमा त्यसलाई कारबाहीको दायरामा ल्याउने काम पनि गरिने छ । ‘हामीले वितरण गर्ने खाद्यवस्तुहरू पूर्णरूपमा गुणस्तरयुक्त नै छन् । जुन खाद्य वस्तु केन्द्रमा विक्री गर्नको लागि खरिद गर्छौँ । त्यो निश्चित मापदण्डभित्र बसेर खरिद गर्छौँ । खाद्य वस्तुलाई भण्डारण गर्दा पनि निरन्तररूपमा गुणस्तरलाई नियन्त्रण गर्नको लागि अनुगमन पनि गर्ने गरेको छ । बिक्री गर्ने क्रममा पनि गुणस्तरको हेरेर मात्र गर्ने भएको हुनाले गुणस्तरको कुनै समस्या छैन,’ न्यौपानेले भनिन् ।
यस वर्षको पसलको लागि सरकारले करिब तीन करोडको बजेट विनियोजन गरेको छ भने त्यसको दायरामा रहेर करिब ५० हजार क्विन्टल खाद्य विक्री वितरण गर्ने योजना बनाएको छ ।
‘यस वर्षको सुपथ मूल्य पसल सञ्चालनको लागि सरकारबाट करिब तीन करोडको बजेट विनियोजन भएको छ । त्यही बजेटको परिधिभित्र रहेर करिब ५० हजार क्विन्टल खाद्य विक्री वितरण गर्ने योजना बनाएका छौ । यही बजेटबाट सम्भव भयो भने बढी सामान पनि वितरण गर्छौँ,’ उनले भनिन् ।

कम्पनीले अनलाइन अर्डर लिएर होम डेलिभरीको सेवा दिइरहेको छ तर सेवा भने काठमाडौं उपत्यका, सुर्खेत र पोखरामा मात्र छ । पहिलो वर्ष खसीबोका, च्याङ्ग्रा धेरै आएको र ठूलो–ठूलो आएको हुनाले विक्री राम्रो तरिकाले हुन सकेको थिएन भने यसपालि कम्पनीले पहिलाको संख्यालाई घटाएर एक हजार पाँच सय खसीबोका तथा तीनसय च्याङ्ग्रा काठमाडौँ ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ ।
सुपथ मूल्य पसलबाट खरिद गर्ने ग्राहक उमेश राईले यस्तो सुपथ मूल्य पसलहरू खोल्नु राम्रो भएपनि यस्तो पसलको पहुँच गाउँगाउँमा पुग्न नसकेको बताए । उनका अनुसार मुख्य बजारमा मात्र यसको प्रयोग सबैले गरेको छ तर यसबारे सबैलाई थाहा भएको छैन ।
‘यस्तो पसलमा बाहिरको भन्दा सामान सस्तो नै पाइन्छ । यसको साथै गुणस्तरयुक्त सामान पनि पाइन्छ । चाडपर्वको बेला यस्तो पसल खोल्नु एकदमै राम्रो हो तर यस्तो पसलको बारेमा अझै सबैले बुझ्न सकेको छैन । मुख्य बजारमा यसको प्रयोग सबैले गरेको छ र यसबारे सबैलाई थाहा पनि छ तर देशको कुना कुनातिर अझै पनि पसल पुग्न सकेको छैन । खासमा भन्ने हो भने यस्तो पसलको आवश्यकता भनेको न्यून वर्गीयहरूको लागि हो । यस्तो पसल गाउँ-गाउँमा पुग्नसक्यो भने सबैको लागि सहज हुन्छ होला ।’
साथै, यस्ता पसल चाडपर्व लक्षित मात्र नभइ सधैँको लागि सञ्चालनमा आउन सक्यो भने जनताको लागि सहज हुने पनि उनको भनाई छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले असोज ७ गतेबाट सुपथ मूल्य पसल सुरु गरेको छ । कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो । कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपैयाँ, नुन प्रतिकेजी दुई रुपैयाँ, खाने तेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपैयाँका दरले छुट गरेको छ ।
कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भूका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ । उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका माग आधारमा पनि सेवा दिन सकिने गरी तयारी गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।