logo-img

बाढी पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् ।

गृह सचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिएका छन् । बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपालञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

कार्यदललाई अति भारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग  आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । 

कार्यदललाई आगामी असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । साथै कार्यदलले दैनिक रूपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ ।



त्यसै गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दश जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकाहरूमा खटाइएको जानकारी दिए ।

उनले भने, ‘हामीले दश जना अधिकृतलाई बाढी/पहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ । उहाँहरूले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउने लगायतका काम गर्नेछ ।’ 



  • प्रकाशित मिति : असोज १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया