आमासँग अमर न्यौपानेः आमाले राेपिदिनु भयाे ममा साहित्यकाे बिउ

आज मातातिर्थ औंसी । मेरो आमासँगको सम्बन्ध भनेको नै मनको सम्बन्ध हो । बासँग मेरो मस्तिष्कको सम्बन्ध रह्यो, आमासँग मनको । आमाको हृदय मलाई कोमल लाग्छ, बाको अलिक कठोर लाग्छ । यी दुवैको सन्तुलनले नै मलाई बाँच्न सिकायो, जीवनमा अगाडि बढ्न सिकायो । 

बा र आमा दुवैजना कोमल वा दुवैजना कठोर हुनुहुन्थ्यो भने आज मेरो जीवन यति सन्तुलित हुने थिएन । दुवै जना कोमल भएको भए थाँक्रो नपाएर यसै गुजुल्टिएको घिरौँलाको झ्याङ जस्तै हुने थियो मेरो जीवन । तर, एकजना कोमल र एकजना कठोर भएकाले मैले जीवनको झ्याङलाई अगाडि डोर्याउन राम्रो थाँक्रो पाएँ ।

आमासँग मेरो निकै नजिकको सम्बन्ध रह्यो । कस्तो भने म सानो छँदा आमाको दूध खाएको पनि मलाई सम्झना छ । झन् मेरी आमा त निकै कोमल हृदयकी हुनुहुन्छ, उहाँका स्पर्शहरु, माया र ममताहरु अहिले पनि म महसुस गर्न सक्छु, सम्झन सक्छु । उहाँ त रुँदारुँदै हाँस्न सक्नुहुन्छ, हाँस्दाहाँस्दै रुन सक्नुहुन्छ । 

जतिबेला मलाई म को हुँ भन्ने पनि बोध थिएन, थाहा थिएन, त्यति बेला आमाले मलाई सिकाउनु भएका पाइलाहरु अहिले पनि मलाई सम्झनामा आउँछन् । 

मेरी आमालाई पहिले पढ्न लेख्न आउँदैनथ्यो । तर, पछि गाउँमा प्रौढ शिक्षा सुरु भएपछि उहाँले कक्षा लिनुभयो, नाम लेख्न सक्ने हुनुभयो । पढ्न नआए पनि मेरी आमालाई गौरी खण्डकाव्यका श्लोकहरु कण्ठस्थ थिए । आमा बाकोभन्दा राम्रोसँग गौरीका श्लोक भन्नुहुन्थ्यो । 

राती सुत्ने बेला उहाँ मलाई आफ्नो काखमा राखेर गौरीका श्लोकहरु सुनाउनुहुन्थ्यो । आमाको काखमा बसेर गौरीका ती मर्मस्पर्शी श्लोक सुन्दा म रुन्थे । 



त्यति बेला मलाई कविता के हो, साहित्य के हो भन्ने केही थाहा थिएन । तर, आमाले वाचन गरेका श्लोकले मलाई रुवाउँथे । खासमा आमाको वाचनका कारण कविताले पगालेर मलाई रुवाएको थियो । साहित्य सुनाएर आमाले मलाई पहिलो पटक रुवाउनु भएको थियो । मन पगाली दिनु भएको थियो । मलाई साहित्यको करुणा सिकाउनु भएको पहिलो व्यक्ति हुनुहुन्थ्यो आमा । त्यसैले मेरो मनमा साहित्यको बिउ रोपियो । आमाले कविता सुनाएर आँसु नखसालिदिएको भए मेरो मनमा साहित्यको बिउ रोपिने थिएन, करुणा रोपिने थिउन । 

आमाले त्यति बेला नै करुणा रोपिदिएकाले हुनुपर्छ, म अहिले पनि आफ्नो साहित्यमा करुणा लेख्छु । मैले सेतो धरतीमा करुणा लेखेको छु, त्यसैले त मलाई लाग्छ, मैले सेतो धरती लेखेको होइन, मेरी आमाले लेख्नु भएको हो । उहाँले मलाई सानोमा काखमा लिएर खेलाउनु हुँदैनथ्यो भने सायद मैले सेतो धरती लेख्ने थिइनँ । 



आमासँगका सम्झना हजारौँ छन् । अर्को एउटा रमाइलो कुरा त अहिले पनि मलाई याद छ । त्यो के हो भने म ठूलो हुँदासम्म पनि आमासँग नै सुत्थेँ । १४ वर्षको हुँदासम्म म आमासँगै सुत्थेँ । कथम्कदाचित् कहिलेकांही आमासँग सुत्न पाइनँ भने मलाई निकै ठूलो सकस हुन्थ्यो । आमासँग सुत्न नपाएको केही दिन हुँदा नै म आमालाई सोध्थेँ– आमा, म सुत्न सकेको छैन, कहिले सुत्न पाउँछु हजुरसँग ? 

पछि अलिक ठूलो भएपछि म आफैंलाई आमासँग सुत्न अप्ठ्यारो लाग्न थाल्यो । एकदिन म आफैंले आफ्ना लागि छुट्टै ओछ्यान बनाएँ । आमाले पनि यो कुरा बुझ्नुभयो, मलाई केही गुनासो गर्नु भएन । हो, मेरी आमा मेरा सबै कुराहरुलाई बुझ्नुहुन्थ्यो, मेरो भावना र चाहना बुझ्नुहुन्थ्यो ।

आमाले मलाई मनमा सधैं राख्नुभयो । घरबाहिर कतै विवाह, ब्रतबन्धहरुमा गएको बेला मेरी आमा उहाँलाई दिएको खानेकुराबाट मेरालागि भाग छुट्ट्याइ दिनुहुन्थ्यो, घरमा ल्याइदिनुहुन्थ्यो । मेलापातमा उहाँलाई दिएको खाजा पनि आफू नखाइ नखाइ पोको पारेर ल्याइदिनुहुन्थ्यो । उहाँले पटुकामा पोको पारेर ल्याइदिएको ती खानेकुराको स्वाद अहिले पनि मनमा नै बसेको छ । 

आजभोलि कहिलेकांही यसो सोच्दा लाग्छ, आमासँग बिताएका ती बाल्यकालका पल नै सबैभन्दा स्वर्णिम रहेछन् । जीवनको खुसी र सुखी जीवन भनेको नै त्यही रहेछ । संसारको जोसुकैलाई पनि सबैभन्दा ठूलो सुख त आमाको काखमा हुँदाको नै महसुस हुन्छ होला । 

मेरी आमा सानोमा मलाई ‘प्याउलो’ पार्नु हुन्थ्यो, अहिले पनि पार्नु हुन्छ। उहाँ मलाई मेरो राजा, मेरो बाबु भनेर बोलाउनु हुन्थ्यो ।

घरमा पनि आमा आफू कम खानुहुन्थ्यो, छोरालाई राम्रो होस् भनेर दूधभात दिनुहुन्थ्यो । अहिले पनि मलाई दूध मन पर्छ भनेर आमाले म घर जाँदा मलाई दूध दिनुहुन्छ, दूध खाउ बाबु भन्नुहुन्छ ।

आमाले ममाथि सधैं ठूलो विश्वास गर्नुभयो । कहिल्यै कुनै पनि कुरामा रोकतोक गर्नुभएन । उहाँलाई कहिल्यै पनि म बिग्रन्छु भन्ने डर पनि भएन । यस्तो डर त मेरो बालाई हुन्थ्यो । बरु आमाले त बाले मलाई गाली गर्दा पनि मेरो पक्ष लिनुहुन्थ्यो, मलाई नै माया गर्नुहुन्थ्यो ।

अहिले पनि आमा मलाई निकै माया गर्नुहुन्छ । घरमा जाँदा उही बाल्यकालमा जस्तै टाउको आफ्नो काखमा राखेर सुमसुमाउनु हुन्छ ।

आमालाई अहिले पनि प्रत्येक दिन मसँग बोल्नै पर्ने हुन्छ । बालाई बरु सातामा एक पटक बोल्दा पनि हुन्छ ।

  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १०:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया