पश्चिम बंगाल पुग्यो ‘फेनी’, उत्तर पश्चिमतर्फ बढ्दै, बंगलादेशमा ‘हाई अलर्ट’

नयाँदिल्ली– भारतको ओडिसामा हाहाकार मच्चाएको शक्तिशाली तुफान ‘फेनी’ शनिबार पश्चिम बंगाल पुगेको छ । अहिले यो ९० किलोमिटर प्रतिघन्टाको रफ्तारमा उत्तर–पश्चिम दिशातर्फ बढिरहेको छ । 

चक्रवाती तुफानका कारण शुक्रबार ओडिसामा ८ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी घाइते छन् । विभिन्न भागमा ठूलो धनमालको क्षति भएको छ । यसअघि, ओडिसाका १५ जिल्लाका ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । 

तुफानको प्रभाव सबैभन्दा ज्यादा ओडिसाका चार जिल्ला कटक, खुर्दा, भुवनेश्वर र पुरीमा पर्यो । यो ओडिसामा टकराउने २० वर्षयताको सबैभन्दा शक्तिशाली तुफान हो । आन्ध्रप्रदेश र ओडिसाका विभिन्न जिल्लामा तुफानका कारण भारी वर्षा भएको छ ।

उत्तर–पश्चिमतर्फ बढ्दै गरेको तुफानलाई हेरेर बंगलादेशमा ‘हाई अलर्ट’ जारी गरिएको छ । बंगलादेश सरकारले तटीय क्षेत्रका ४ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिसकेको छ । २५ लाख मानिसलाई स्थानान्तरण गरिँदै छ । 

सन् १९९९ मा आएको सुपर साइक्लोनपछिको सबैभन्दा खतरनाक मानिएको फेनी शुक्रबार बिहान ओडिसाको पुरी तटमा ठोकिएको थियो । त्यतिखेर हावाको रफ्तार १७५ किलोमिटर प्रतिघन्टा थियो । कुनै भागमा यो रफ्तार २०० किलोमिटर प्रतिघन्टासम्म पुग्यो । भारतीय मौसम विभागका अनुसार फेनीको मुख्य घेरा २५ किलोमिटरको छ । 



फेनी तुफानका कारण आन्ध्रप्रदेशका चार जिल्लामा चुनाव आयोगले लोकसभा निर्वाचनका लागि लगाएको आचारसंहिता हटाएको छ । उद्धार तथा राहत कार्यमा कुनै बाधा नपरोस् भनेर आचारसंहिता हटाइएको हो । 



तुफानबाट ओडिसा, आन्ध्रप्रदेश र पश्चिम बंगालको चुनावी अभियान प्रभावित भएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले ४८ घन्टाका लागि आफ्ना सबै चुनावी र्याली रद्द गरेकी छिन् । 

भारतीय मौसमविद्हरुले अबको केही घन्टामा तुफानको गति घट्दै जाने र यो कमजोर बन्ने अनुमान गरेका छन् । 

  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १०:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया