असोज ११ र १२ गतेको भारी वर्षाका कारण भत्किएकाे बिपी राजमार्ग दसैँअघि नखुल्ने भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर साे जानकारी दिएकाे हाे ।
मन्त्रालयको टोलीले स्थलगत अवलोकन गरेर आएको भन्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँअघि बिपी राजमार्ग खुल्ने सम्भावना नरहेको बताए । ‘खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिनेछ,'उनले भने, 'अन्य सवारीसाधन चलाउन सकिने गरी खुलाउन नसकिने अवस्था छ ।’
पूर्वी तराईलाई जोड्ने छोटो दूरीको यो सडक मार्ग तत्काल खुल्न नसक्ने भएपछि काठमाडाैंबाट पूर्व जाने यात्रुहरू मर्कामा पर्ने भएका छन् ।
सचिव शर्माले असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी गराए । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाई यातायात सुचारु गरिएको छ ।
हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको मन्त्रालयको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।