पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन आज हुँदैछ । काठमाडौंमा आयोजना हुने अक्सन दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
अक्सनमा १५० भन्दा खेलाडी सहभागी हुनेछन् । क्यानले यसअघि १४२ जनाको अन्तिम सूची सार्वजनिक गरेको थियो । तर, त्यसमा केही नाम छुटेको भन्दै क्यानले अक्सनको अन्तिम लिस्टमा थप खेलाडी समावेश गर्ने भएको छ ।
पहिलो सिजनको एनपिएलमा एक टिममा कुल १६ खेलाडी हुनेछन् । तीमध्ये चारजना विदेशी खेलाडी हुने छन् । विदेशी खेलाडीलाई टिमहरूले आन्तरिक सहमतिमा अनुबन्ध गर्न पाउने छन् । तीमध्ये एकजना एसोसियट क्रिकेटर हुनुपर्नेछ । यस्तै, हरेक टिमले एकजना खेलाडी ट्यालेन्ट हन्टबाट भित्र्याउनुपर्नेछ ।
पहिलो संस्करणको एनपिएल अक्सनमा ग्रेड ‘ए’ का खेलाडीको न्यूनतम् मूल्य १० र उच्चतम १५ लाख रुपैयाँ राखिएको छ । यस्तै, ग्रेड ‘बी’ का खेलाडीले न्यूनतम् ५ लाख र उच्चतम १० लाख रुपैयाँ पारिश्रमिक पाउने छन् । ग्रेड ‘सी’ का खेलाडीको न्यूनतम् २ लाख र उच्चतम ५ लाख रुपैयाँ तोकिएको छ ।
उच्चतम मूल्यमा गएपछि सबै ग्रेडका खेलाडी लक्की ड्रबाट निर्धारण हुनेछ । एक टोलीले ‘ए’ र ‘सी’ ग्रेडका समान तीन तथा ‘बी’ ग्रेड का चार खेलाडी टोलीमा अनिवार्य राख्नुपर्ने नियम छ ।
एनपिएल अक्सनमा महँगोमा बिक्री हुनसक्ने ६ खेलाडी
१. गुलशनकुमार झा
एनपिएल अक्सनमा युवा अलराउन्डर गुलशनकुमार झाले सर्वाधिक मूल्य पाउन सक्ने अनुमान गरिएको छ । उनी हाल उच्च लयमा छन् । गुलशनले क्यानडा भ्रमणका क्रममा सानदार प्रदर्शन गरे । त्यसकारण पनि उनी अक्सनमा महँगोमा बिक्री हुने सम्भावना छ ।
टियू मैदानमा गुलशनले राम्रो प्रदर्शन गर्दै आएका छन् । र, अब उनलाई अक्सनबाट भित्र्याउन टिमहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
२. अनिलकुमार साह
एनपिएल अक्सनमा महँगोमा बिक्री हुन सक्ने अर्का खेलाडी हुन्, अनिलकुमार साह । उनी पनि हाल राम्रो लयमा छन् । टियू ग्राउन्डमा अनिलको रेकर्ड पनि राम्रो छ । विकेटकिपरसमेत रहेकाले उनी टिमहरूको रोजाइमा पर्ने सम्भावना उच्च छ ।
३. सन्दीप जोरा
एनपिएल अक्सनमा सन्दीप जोरा पनि टिमहरूको प्रमुख रोजाइमा पर्ने सम्भावना उच्च छ । टी–२० मा उनले राम्रो प्रदर्शन गर्दै आएका छन् ।
आक्रामक ब्याटिङ गर्ने क्षमता भएका जोराले अन्तर्राष्ट्रियदेखि घरेलु प्रतियोगिताको राम्रो अनुभव हासिल गरिसकेका छन् । साथै, उनले विगतमा नेपालका अरू लिग पनि खेलिसकेका छन् ।
४. लोकेश बम
एनपिएलको अक्सनमा राम्रो मूल्य पाउन सक्ने अर्को खेलाडी हुन्, लोकेश बम । टी–२० मा आक्रामक ब्याटिङ गर्न माहिर लोकेशमाथि पनि टिमहरूले पैसाको वर्षा गर्ने सम्भावना उच्च छ । उनले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
५. कमल सिंह ऐरी
एनपिएल अक्सनमा महँगो मूल्य पाउन सक्ने अर्का खेलाडी हुन्, कमल सिंह ऐरी । उनले टी–२० मा राम्रो प्रदर्शन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव हासिल गरिसकेका कमललाई भित्र्याउन टिमहरूबीच कडा टक्कर हुने देखिन्छ ।
६. ललितनारायण राजवंशी
एनपिएल अक्सनमा सर्वाधिक मूल्य पाउने अर्का सम्भावित खेलाडी हुन्, स्पिनर ललित नारायण राजवंशी । टियू ग्राउन्डमा प्रायः उनी विपक्षी टिमविरुद्ध हाबी हुँदै आएका छन् । टियूको पिच पनि स्पिनर अनुकूल मानिन्छ ।
यस्तो अवस्थामा नेपालका लागि २२ टी–२० आई खेलिसकेका ललितलाई भित्र्याउन टिमहरूबीच प्रतिस्पर्धा हुन सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।