नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने बताएका छन् ।
सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरूसँगको भेटमा बोल्दै डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नेभएकाले सोही अनुसारको तयारी गर्न नेता एवम् कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।
‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला । दसैँ तिहारको रमाइलोमा मात्रै होइन जनताको सुखदुखमा पनि पुग्नुस्, दसैँको शुभकामना,’ डा. कोइरालाले भने ।
कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औँ महाधिवेशन पर्खनुपर्ने बताए । ‘१५ औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ । इमानदार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औँ महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ उनको भनाइ थियो ।
सो अवसरमा दलित संघका केन्द्रीय सदस्य मुक्तबहादुर महतेले नेता कोइरालासँगको भेटमा दलित संघको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिए ।
सो क्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही , सञ्जय गौतम, सांसद सीता मिजार लगायत उपस्थित थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।