पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनमा ८० खेलाडीमाथि बोली लागेको छ । आइतबार काठमाडौंमा भएको अक्सनमा १६४ मध्ये ८० खेलाडीमाथि बोली लागेको हो ।
अक्सनमार्फत आठै टोलीले समान १० खेलाडी भित्र्याए । यस्तै, ‘ए’ क्याटागोरीका १२ खेलाडीलाई टिमहरूले समान १५ लाख रुपैयाँ खर्च गरेर अनुबन्ध गरे । अक्सनमा विकेटकिपर अनिलकुमार साहलाई भित्र्याउन आठवटै टिमबीच कडा प्रतिस्पर्धा देखियो । र, गोलाप्रथा हुँदा उनी जनकपुर बोल्ट्समा जोडिए ।
त्यस्तै, गुलशनकुमार झा र लोकेश बमलाई अनुबन्ध गर्न समान सात टिमले प्रतिस्पर्धा गरे । र, लक्की ड्रमार्फत गुलशन कर्णाली याक्स र लोकेश विराटनगर किंग्समा १५/१५ लाख रुपैयाँमा आबद्ध भए । यस्तै, स्पिनर ललितनारायण राजवंशीलाई भित्र्याउन ६ टोलीबीच कडा टक्कर देखियो । र, नतिजा लक्की ड्रमार्फत निकाल्दा उनी १५ लाखमा जनकपुरमा जोडिए ।
यस्तै, युवा अलराउन्डर विवेककुमार यादव पनि अधिकतम् १५ लाखमा बिक्री भए । उनलाई लुम्बिनी लायन्स लक्की ड्रमार्फत् अनुबन्ध गर्न सफल भयो । यस्तै, युवा बायाँहाते तीव्र गतिका बलर प्रतिश जिशी पनि १५ लाखमै बिक्री भए ।
उनलाई विराटनगर किंंग्सले लक्की ड्रमार्फत अनुबन्ध गरेको हो । यस्तै, युवा स्पिनर सूर्य तामाङ पनि अधिकतम् १५ लाखमा बिक्री भए । उनलाई लुम्बिनी लायन्स लक्की ड्रमार्फत आबद्ध गर्न सफल भयो । यस्तै, लुम्बिनी लायन्सले ब्याटर सन्दीप जोरालाई पनि लक्की ड्रमार्फत नै १५ लाखमा भित्र्यायो ।
त्यस्तै, साहब आलमले पनि अधिकतम १५ लाख पारिश्रमिक पाउने छन् । उनी लक्की ड्रमार्फत काठमाडौं गुर्खाजमा जोडिए । अर्का स्पिनर सागर ढकाल पनि १५ लाखमै बिक्री भए । उनी लक्की ड्रमार्फत पोखरा एभेन्जर्समा पुगे । सर्वाधिक रकम पाउने अर्का खेलाडी हुन्, आरिफ शेख ।
उनलाई भित्र्याउन तीन टोलीले अधिकतम १५ लाख खर्च गरेका थिए । लक्की ड्रमार्फत आरिफ सुदूरपश्चिम रोयल्समा आबद्ध भए । यस्तै, १५ लाखमा बिक्री हुने अर्का खेलाडी हुन्, भीम सार्की । उनलाई काठमाडौं गुर्खाज लक्की ड्रमार्फत अनुबन्ध गर्न सफल भयो ।
काठमाडौंमा भीम सार्की र साहब आलमसहित राशिद खान, शंकर राना, दीपेश कँडेल, सुमित महर्जन, कृष्ण कार्की, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठ अक्सनबाट अनुबन्ध भएका छन् ।
काठमाडौंको गुर्खाजमा करण केसी मार्की प्लेयरको रूपमा रहेका छन् । यस्तै, लुम्बिनी लायन्समा मार्की प्लेयरको रूपमा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल रहेका छन् । लुम्बिनीले अक्सनबाट सूर्य तामाङ, विवेककुमार यादव, सन्दीप जोरासहित आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेक गौतम र विकास आग्री अनुबन्ध गरेको छ ।
यस्तै, कुशल भुर्तेल मार्की प्लेयर रहेको पोखरा एभेन्जर्सले अक्सनबाट सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई भित्र्यायो । यस्तै, सुदूरपश्चिम रोयल्सले अक्सनबाट आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, ईशान पाण्डे, अर्जुन कुमाल, भोजराज भट्ट, खडक बोहरा, नरेश बुढा ऐर, अमित श्रेष्ठ र नरेन साउदलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर रहेका छन् ।
यस्तै, कर्णाली याक्समा सोमपाल कामी मार्की प्लेयर रहेका छन् । कर्णालीले अक्सनबाट गुल्सनकुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे र युनिसविक्रम सिंहलाई अनुबन्ध गरेको छ । त्यस्तै, सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगर किंग्सले लोकेश बम, प्रतिश जिसीसहित बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल, दीपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट र मिर्नल गुरुङलाई भित्र्यायो ।
त्यस्तै, जनकपुर बोल्ट्सले अनिलकुमार साह, ललितनारायण राजवंशी, रूपेश सिंह, आकाश त्रिपाठी, किशोर महतो, शुभ कंस्कार, शेर मल्ल, हेमन्त धामी, अरनिकोप्रसाद यादव र तुलबहादुर थापालाई अनुबन्ध गर्यो । जनकपुरमा मार्की प्लेयररूपमा आसिफ शेख रहेका छन् ।
त्यस्तै, कुशल मल्ल मार्की प्लेयर रहेको चितवन राइनोजले अक्सनमार्फत रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषवाकर, विपिन रावल, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रउटेला, दीपक बोहरा, रञ्जित कुमार र गौतम केसीलाई भित्र्यायो ।
फ्रेन्चाइज टिमहरूले अब विदेशी खेलाडीको टुंगो लगाउन बाँकी छ । पहिलो संस्करणको एनपिएलमा क्यानले विदेशी खेलाडी अनुबन्ध गर्ने मौका टिमहरूलाई नै दिएको छ । मंसिर १५ देखि सुरु हुने एनपिएलमा एउटा टिमले चारजना विदेशी खेलाडी भित्र्याउन पाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।