logo-img

बंगलादेशी सरकार प्रमुख युनुसले किन मानेनन् चुनावकाे मिति ताेक्न ?

बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनावअघि सुधार आवश्यक रहेको बताएका छन्।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणामस्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको थियो।

कार्यवाहक सरकारको नेतृत्व गरिरहेका युनुसले प्रथम आलो अखबारले प्रकाशित गरेको अन्तर्वार्तामा आफूमध्ये कसैको पनि लामो समयसम्म सरकारमा बस्ने लक्ष्य नभएको बताए।

'सुधारहरू महत्त्वपूर्ण छन्, तपाईं भन्नुहुन्छ, चुनाव गर, हामी चुनाव गर्न तयार छौँ, तर सुधारअघि पहिले चुनाव गर्नु गलत हुनेछ,' उनले भने। हसिनाको १५ वर्षेको शासनकालमा विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्यासहित व्यापक मानवअधिकार हनन भएको थियो।

हसिना सत्ताबाट हट्नुअघि सातामा छ सयभन्दा बढी मानिस आन्दोलनमा मारिएको राष्ट्रसंघीय प्रारम्भिक प्रतिवेदनले जनाएको थियो। प्रतिवेदनमा सम्भवतः उक्त संख्या कम थियो भनिएको छ।

हसिना सरकारले अदालत र निजामती सेवाको राजनीतिकरणसहित शक्तिको दुरुपयोग गरी लोकतान्त्रिक पद्धतिलाई ध्वस्त पार्न एकतर्फी चुनाव गरेको आरोप पनि लगाइएको थियो।



युनुसले सार्वजनिक प्रशासनको विरासत पूर्ण रूपमा बिग्रिएको बताउँदै यसलाई भविष्यमा निरंकुशतामा फर्कनबाट रोक्न व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गरे। सुधारको अर्थ विगतमा जे भयो त्यसलाई नदोहोर्याई आवाश्यक सुधार गर्ने रहेको उनको भनाइ थियो।

युनसले हसिनाको सरकार अपदस्थ भएपछि हत्याको आरोपमा पक्राउ परेका धेरै राजनीतिज्ञ र वरिष्ठ अधिकारीहरूको बारेमा गरिएको आलोचनालाई पनि खारेज गरेका छन्।



यी गिरफ्तारीहरूले युनुसको कार्यवाहक सरकारले हसिनाको शासनका वरिष्ठ व्यक्तिहरूमाथि राजनीतिक मुद्दा चलाउने आरोप लगाइएको छ।

यद्यपि युनुसले पक्राउ परेका व्यक्तिहरूविरुद्ध सुरु गरिएको कुनै पनि आपराधिक मुद्दा सरकारी हस्तक्षेपबाट मुक्त रहने अभिप्राय पटक-पटक व्यक्त गर्दै आएका छन्। साथै उनले न्यायिक प्रणालीमा सुधार भएपछि मुद्दा अगाडि बढ्ने बताए।  

  • प्रकाशित मिति : असोज २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया