क्यानडाको ‘ए’ टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ । मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो । क्यानडा ‘ए’ विरुद्ध नेपालको यो लगातार तेस्रो जित हो ।
पहिलो खेलमा तीन विकेटको हार बेहोरे पनि त्यसपछिको तीन म्याचमा भने नेपालले लगातार जित निकाल्यो । ह्याट्रिक जित निकाल्नेक्रममा अन्तिम खेलमा क्यानडा ‘ए’ ले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा अनिलकुमार साहले ७३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५९ रन बनाए । यस्तै, अविजित रहेका आरिफ शेखले ४९ बलमा पाँच चौकासहित ३४ रन बनाए । त्यस्तै, कुशल मल्लले ३६ बलमा २ चौका र एक छक्काको सहयोगमा नटआउट ३० रनको योगदान दिए ।
अर्जुन साउँदले ६८ बलमा एक चौकासहित २३ रन जोडे । यस्तै, देव खनाल ११, दीपेन्द्र सिंह ऐरी आठ, कप्तान आसिफ शेख सात, कुशल भुर्तेल पाँच तथा करण केसी र रिजन ढकाल शून्यमै आउट भए ।
क्यानडा ‘ए’ का लागि सुखजिन्दर सिंह र शाहिद अहमदजाईले तीन/तीन विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली क्यानडा ‘ए’ ४७.४ ओभरमा १९४ रनमा अलआउट भयो ।
उसका लागि मिहिर पटेलले १०८ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ७२ रन बनाए यस्तै, खैबर खान मोहम्मदले २८, अजयवीर सिंहले २६ र परवेश आहुजाले १७ रन जोडे ।
नेपालका लागि कुशल भुर्तेलले ९.४ ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, सागर ढकालले ९ ओभरमा २२ रन दिएर २ विकेट हात पारे । करण केसीले ९ ओभरमा २ मेडनसहित ४२ रन खर्चेर २ विकेट नै लिए । दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको नाममा एक/एक विकेट रह्यो ।
८ ओभरमा ५६ रन दिएका सोमपाल कामी भने विकेटविहीन रहे । यस खेलमा कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, भीम सार्की, गुलशन कुमार झा र ललितनारायण राजवंशीले विश्राम पाएका थिए ।
नेपाली टिमले अमेरिका भ्रमणको तयारीको स्वरूप क्यानडाको दोस्रो रोजाइको टोलीसँग चारवटा अभ्यास म्याच खेलेको हो । नेपाली टोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्नेछ ।
अमेरिकामा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्नेछ । जसअन्तर्गत नेपालले टी–२० श्रृंखलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सानमा गर्नेछ ।
त्यसपछि नेपालले लिग–२ मा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका छ । उक्त सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।