हिजोआज सबैलाई दसैँ लागेको छ । देश विदेशमा छरिएर रहेका अधिकांश मानिस दसैँको मौकामा घर गइरहेका छन् । दसैँको बेला घर नेपालमा बस तथा हवाईजहाज जाने गर्छौँ ।
त्यसमा पनि अधिकांशले बसको यात्रा नै गर्ने गर्छन् । बसको यात्रा गर्दा धेरैजसो व्यक्तिलाई मोसन सिक्नेस (वाकवाकी आउने, रिंगटा लाग्ने) हुन्छ । अनि पेट बटारिएर बान्ता हुने हुन्छ । बसको यात्रामा त्यस्तो समस्या हुने मान्छेले अदुवा खाने, पानी खाने, अनि हल्का (साधारण) खाना खाएर यात्रा गर्नु राम्रो हुन्छ ।
यात्राका क्रममा बान्ता हुने समस्या रोक्न घरेलु उपाय र औषधीय गुणयुक्त जडीबुटी तथा एलोपेथिक औषधि पाइन्छ । बान्ता रोक्ने ओषधि (मेटोकोलोप्राइमिड) : बसको यात्रा गर्दा बान्ता हुने व्यक्तिले जहिले पनि बस चढ्नु एक/डेढ घण्टाअघि बान्ता रोक्ने एलोपेथिक औषधि सेवन गर्नुपर्छ। यस्तो औषधि एक दुई पत्ता बोक्न जरुरी हुन्छ किनभने आफूलाई बान्ता नआए पनि छेउमा बसेको व्यक्तिलाई आउन सक्छ ।
यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात् यात्राजन्य बान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ । कसैलाई सवारी साधन जस्तै :- बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घण्टौँ पछि । मोसन सिकनेस भएमा यात्रा साह्रै कष्टकर हुन्छ ।
अतः आफ्नो यात्रा सुखदायी र रमाइलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडीबुटीको बारेमा जानकारी लिऔँ ।
१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरू मुखमा राखेर चुसी रहनु पर्दछ ।
२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसी रहँदा पनि बान्ता हुँदैन ।
३. जामुन : जामुनको फल तथा यसका पातहरूमा बान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नु पूर्व पिउने वा यात्राको बीचबीचमा अलि–अलि रस पिउँदा पनि बान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रूपमा प्रयोग गर्न सकिन्छ ।
४. सौंफ : सौंफले पनि बान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाई रहँदा पनि बान्ता हुँदैन ।
५. अदुवा : रुघा खोकी, अरुचि आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा बान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसी रहँदा पनि मोसन सिकनेस कम हुन्छ। यसै गरी फलफूलका रूपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।