logo-img

पोखरामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

दसैँ, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ । 

विगत केही वर्ष अघिसम्म देखिन छाडेको पिर्के पिङ दसैँ–तिहारमा पुनः संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको हो । काठबाट बनाइने यस पिङलाई ठाँउअनुसार चर्खे, रोटे, रंगते, चम्राली पिङ आदि भन्ने गरिन्छ । नेपाली प्राचीन संस्कृतिसँग जोडिएको पिङ मनोरञ्जनको साधन हो ।

यहाँको रुपा गाउँपालिकाले दुई वर्षयता पिर्के पिङको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । ‘पिर्के पिङप्रतिको आकर्षण बढाउन दुई वर्षदेखि गाउँपालिकाले पिङ हालेबापत १० हजार  प्रोत्साहन रकम दिने गरिएको छ,’ उनले भने, ‘दुई वर्षअघि छवटा मात्रै पिर्के पिङ हाल्ने गरिएको पालिका क्षेत्रमा अहिले २१ स्थानमा पिङ हालिएको छ ।’    

कास्कीकै पोखरा महानगरपालिका क्षेत्रका कसेरी, बरपौवा, ठूलोपाटन लगायतका क्षेत्रमा पिङ हालिएको छ । ०४१ साल अघिसम्म पिर्के पिङ हाल्ने गरिएको पोखरा महानगरपालिका वडा नं ३२ ठूलोपाटनमा ४० वर्ष पछि प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिको सक्रियतामा यस वर्ष पिर्के पिङ हालिएको वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिए । 

‘हामी सानो हुँदा ठूलोपाटनमा पिर्के पिङ हाल्ने गर्थ्यौं,’ अध्यक्ष पौडेलले भने, ‘त्यसयता पिङ हाल्ने प्रचलन हराएपछि संस्कृतिको जगेर्ना गर्न यस वर्षदेखि पुनः पिङ हाल्न थालिएको हो ।’ तत्कालीन समयमा पिङ हालेका अनुभवी जनशक्तिसँग परामर्श लिनुका साथै रूपा गाउँपालिका–४ ठकुरी गाउँमा पुगेर पिङमा प्रयोग गरिने सामग्रीको नापबारे जानकारी लिइएको उनले बताए । 

दसैँका समयमा विशेष गरी टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने प्राचीन विश्वासका आधारमा पिङ खेल्ने गरिएको बुढापाका बताउँछन् । 





  • प्रकाशित मिति : असोज २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया