पर्यटन व्यवसायी एवं पर्वतारोही लाक्पाफुटी शेर्पाले नेपालमा ‘रिटायर्ड टुरिज्म’ सम्भावना रहेकाले सरकारले त्यसको अवधारणा अघि सार्नुपर्ने सुझाब दिएकी छिन् । उनले विदेशीहरू आफ्नो अवकाश जीवन नयाँ–नयाँ ठाउँ घुमेर बिताउन चाहने भएकाले नेपालले ‘रिटायर्ड टुरिज्म’को अवधारणा बनाएर प्रवर्द्धन गर्नुपर्ने सुझाब दिएकी हुन् ।
‘यतिबेला राइट ठाउँमा राइट मिनिस्टर हुनुहुन्छ । मन्त्री बद्री पाण्डेको सुरुवाती नै राम्रो देखिएको छ । जस्तो पर्यटन बोर्डको सिइओ नियुक्तिदेखि आर्थिक प्रलोभनमा उहाँ पर्नुहुन्छ जस्तो लाग्दैन । त्यसैले उहाँलाई मेरो सुझाव के छ भने नेपालमा थप १० वटा जहाज किन्नुपर्छ । साथै विदेशी नागरिकले आफ्नो देशमा ६५ वर्षसम्म काम गर्छन् । त्यसपछि घुम्न चाहन्छन् । उनीहरूलाई नेपाल घुम्न र बस्नका लागि फ्रिभिसाको अवधारणा ल्याएर वा कुनै सहुलियत दिलाएर नेपाल भित्र्याउन सक्नुपर्छ,’ उनले भनिन्,‘मन्त्री पाण्डेकै कार्यकालमा रिटायर्ड टुरिज्म सुरु होस् । उनीहरू अपार्टमेन्ट वा लक्जरी होटलमा बस्न रुचाउँछन् र खर्च गर्न चाहन्छन् ।
अवकाशप्राप्त जीवन बिताइरहेकाहरू परिवार नै नेपाल घुम्न आउने वातावरण बनाउनुपर्छ ।’
हुन त काम गर्नेलाई नेपालको सिस्टमले अवरोध खडा गर्ने उल्लेख गर्दै उनले १० वटा जहाज खरिद गर्न र रिटायर्ड टुरिज्म विकास गर्न ढिला गर्न नहुने बताइन् । प्राकृतिक र वातावरणीय दृष्टिकोणले बस्नका लागि नेपाल उपयुक्त गन्तव्य भएकाले एउटा निश्चित मापदण्ड बनाएर रिटायर्ड पर्यटक नेपाल ल्याउनुपर्ने उनले बताइन् ।
उनले पर्यटन क्षेत्रमा सरकारले लगाइरहेको केही अनावश्यक कर हटाउन पनि माग गरिन् । नेपाल कृषि पर्यटनका लागि उपयुक्त भएकाले विश्वका विभिन्न देशमा कृषिजन्य वस्तुहरू निर्यात गर्न सकिने भएकाले एग्रो टुरिज्मको विकासमा लाग्नुपर्ने बताइन् । नेपालमा इमान्दार र विधिपूर्वक व्यवसाय गरिरहेकाहरूलाई माफिया भनेर आरोप लगाउने गरेको भन्दै माफिया शब्दप्रति आपत्ति जनाइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।