एजेन्सी– उत्तर कोरियाका मिडियाले नेता किम जङ–उनको सहभागितामा नै छोटो दुरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ । जापानी समुद्रमा छोटो दुरीका क्षेप्यास्त्रहरु परीक्षण गरिएको जनाइएको छ ।
उत्तर कोरियाली नेता किमले आफ्नो सैन्य शक्ति अझ सशक्त बनाउन यी क्षेप्यास्त्र परीक्षण गर्न निर्देशन दिएका थिए । अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार यही क्षेप्यास्त्र परीक्षणका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोष प्रकट गरेका छन् । उनले किमले यस्ता गतिविधि गरेर दुई देशबीचको सुध्रँदै गरेको सम्बन्ध खराब नहुनेमा आफूले विश्वास लिएको बताएका छन् । ‘किमलाई म उनीसँग छु भन्ने पक्कै थाहा छ होला,’ उनले भनेका छन्, ‘सम्झौता हुनेछ र उनले मसँग गरेको वाचा तोड्न चाहँदैनन् भन्ने विश्वास लिएको छु ।’
यसअघि गत फ्रेबुअरीमा भियतनामको हनोइमा भएको किम र ट्रम्पको बैठक निष्कर्षविहिन भएको थियो । त्यसैले शनिबार उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण वासिङ्टनमाथि दबाब बढाउन भएको बताइएको छ ।
हनोइ बैठकपछि उत्तर कोरियाले गरेको यो पहिलो क्षेप्यास्त्र परीक्षण हो ।
त्यसो त अन्तर्राष्ट्रिय विश्लेषकहरुले किमको यो निर्णय रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटपछि आएकाले यसको विशेष अर्थ रहेको हुनसक्ने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।