काठमाडौँ– साहित्यकार तर्कना शर्माद्वारा लिखित उपन्यास जेब्राक्रस सार्वजनिक गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
पत्रकार, साहित्यकार तथा प्राज्ञिक व्यक्तित्व उपस्थित कार्यक्रममा कवि बाबु त्रिपाठीले अन्तरसंवाद कार्यक्रको संयोजन गरेका थिए । कार्यक्रमा डा.रजनी ढकाल, डा. तारालाल श्रेष्ठ तथा साहित्यकार भुवनहरी सिग्देलले उपन्यासमाथि आफ्नो धारण राखेका थिए ।
उपन्यास जेब्राक्रसमाथि टिप्पाणी गर्दै डा.रजनी ढकालले उपन्यासले महिला समस्यालाई ज्यादै शिष्ट तरिकाले आङ नै जिरिङ हुने गरी सरल र सरस भाषामा सम्बोधन गर्न सफल रहेको बताउँदै उपन्यासले नेपाली साहित्यमा समलिङ्गीहरूका अनुभव र अनुभूतिको गहिराइलाई पाच्य भाषामा उतार्न सफल रहेको बताए ।
साथै यो विषय नेपाली साहित्यको मात्र नभएर विश्वव्यापी बहसको विषय हो जहाँ पितृसत्ताका कारण महिलामाथि हुने दमन, शोषण र अन्यायको खुलेर विरोध गरिएको छ भन्ने धारणा राखे ।
कार्यक्रममा डा.तारालाल श्रेष्ठले नेपाली साहित्यमा समलिङ्गीका अनुभूति र समस्याको गहिराइ छाम्न कृति सफल रहेको बताउँदै उपन्यासले ज्यादै कौतुहलपूर्ण तरिकाले विषम लिङ्गी र समलिङ्गी बीचको वैवाहिक सम्बन्धमा आउने उतारचढावलाई सूक्ष्म सम्बोधन गरेको बताए ।
उपन्यासकारको ध्यानाकृष्ट गर्दै उनले भने, ‘पुरातनवादी समाजले तपाईंलाई लान्छना लगाउन सक्छ ।’ उनले समलिङ्गीहरूलाई कानुनी मात्र नभएर सामाजिक रूपमै सहज बनाइनु पर्ने धारणा राख्दैे उपन्यासमा पढ्दापढ्दै पाठकको मस्तिष्क हल्लाउने क्षमता रहेको बताए ।
साहित्यकार भुवनहरि सिग्देले उपन्यासमाथि आफ्नो धारणा राख्दै मानवीय अनुभूतिका सूक्ष्म कोण समात्न सफल रहेको बताए । उनले भने, ‘उपन्यासमा आएका घटना, पात्र र कथानकमा ज्यादै रोचकता रहेको हुँदा उपन्यास पठनीय बनेको छ ।’
उपन्यासकार तर्कना शर्माले कोही प्रकृतिभन्दा बाहिर जान सक्दैन भन्ने भन्ने आफ्नो धारणा राख्दै समाजमा हाँसोको पात्र बनाइएका समलिङ्गीहरू पनि मान्छे हुन्, उनीहरूलाई मान्छेको जस्तो व्यवहार र इज्जत गरिनुपर्ने बताए ।
उनले समलिङ्गीका अनुभव, अनुभूति र उनीहरूको समस्यामाथि बहस र चर्चा चलाइराख्नुपर्ने बताए । साङ्ग्रीला बुक्सले प्रकाशन गरेको यस उपन्यासको मूल्य ३५० रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।