प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएका छन् ।
प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने जानकारी गराएका थिए ।
उनले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरू गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा सहभागी प्रतिनिधिमण्डलले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो ।
बाढी पहिरोबाट भएको क्षति र प्रभावितहरूको स्थिति
यही असोजको दोस्रो साता परेको भारी वर्षासँगै आएको बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको थियो । सरकारी तथ्याङ्कअनुसार बाढी, पहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । धादिङ, काभ्रे, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुली जिल्ला बढी प्रभावित छन् ।
उक्त बाढी पहिरोबाट २२४ जनाको मृत्यु पुष्टि हुँदा झन्डै दुई दर्जन व्यक्तिहरू बेपत्ता भएका छन् । त्यस्तै उक्त बाढी पहिरोमा परेर १५८ जना घाइते भएका थिए ।
असोज ११ र १२ गतेको भीषण वर्षा पछिको बाढी पहिरोले प्रभावित हरू कोही खुला आकाशमुनी छन् भने कोही आफन्तकोमा आश्रय लिइरहेका छन् । यसैबीच आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमै बसेर प्रभावितहरूले यस वर्षको दसैँ मनाएका छन्।
बाढी पहिरो गएको आधा महिना पुरा भइसक्दा पनि प्रधानमन्त्री ओलीले भने विपद्पछिको पुनःनिर्माण र पुनःव्यवस्थापनको काम छिट्टै अघि बढ्ने मात्रै बताउने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।