logo-img

एउटा चिकित्सकले आफ्नो मृत्युबारे के सोच्छ ?

जब चिकित्सक स्वयम् जीवनको उत्तरार्धमा मृत्यु र जीवनको दोधारमा हुन्छन्,तब सघन उपचार विधिलाई नलिने निर्णय गर्छन् । यो धेरै जसो चिकित्सकको निर्णय हुने गर्दछ । यसको कारण चिकित्सक स्वयमसँग भएको ज्ञान हो । अस्पतालमा दिइने सघन उपचार कठोर हुन्छ । धेरै जसो मापदण्ड गणितीय हुन्छ । यन्त्र र प्रविधिको अत्यधिक प्रयोग हुन्छ । बिरामीको शरीरले त्यो जटिल उपचारलाई कति थाम्न सक्छ भन्ने चुनौतीपूर्ण वातावरणमा भएको हुन्छ ।

आइसीयुमा बिरामीलाई कुन बेला मेसिन (भेन्टिलेटर)मा राखेर कति दिनसम्म कृत्रिम सास फेर्न लाउने हो भन्ने निर्णय पनि धेरै मापदण्ड र त्यहाँ कार्यरत विशेषज्ञको कुशलतामा निर्भर हुन्छ । यो प्रक्रियाबाट गुज्रिनु बिरामी स्वयम्कालागि चरम यातनापूर्ण हुन सक्छ । सायद यो कुरा बुझेर नै चिकित्सकले स्वयम् आफ्नालागि अस्पतालभित्रको सघन उपचार रोज्दैनन् । उनीहरू घर मित्र आफ्नो परिवारबीच मृत्युवरण रोज्छन् ।  

मेरो सहपाठी मसँग होस्टेलमा बस्नुहुन्थ्यो । हामी एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत थियौँ । साँझ करिब ६ बजे साथीले रगत बान्ता गर्नुभयो । उक्त रगत उछिट्एिर कोठाको धेरै परसम्म पुग्यो । त्यसपछि उहाँलाई म लगायत अन्य साथी मिलेर अस्पताल भर्ना गर्‍यौँ । पछि उहाँको अभिभावकले अन्य अस्पतालमा लगेर उपचार गराउनु भयो । साथीलाई क्यान्सर लागेको थियो । साथीको दुई महिनापछि मृत्यु भएको खबर सुने । यो सन् २००४ को घटना हो ।

सन् २००९ मा म थापाथलीस्थित प्रसूति गृहमा इन्टर्नसिप गर्दै थिए । त्यसबेला म भन्दा एक ब्याच सिनियर चिकित्सक भोलि पल्ट प्रसुतिगृहबाट इन्टर्नसिप सकेर गाउँ फर्किने तयारीमा थिए । उहाँसँग राम्रै कुराकानी भयो । हामी सबै बसेर चिया खाजा खायौँ । शुभकामना साटासाट भयो । त्यसको दुई दिनपछि उहाँ घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको खबर पाए ।

मैले रेजिडेन्सी ट्रेनिङ्ग गर्दा,मेरो विभागमा वरिष्ठ चिकित्सक जो इन्डोकाइनोलजिष्ट हार्मोन विशेषज्ञ हुनुहुन्थ्यो । उहाँ धेरै राम्रो अनुभवी चिकित्सक  हुनुहुन्थ्यो । उहाँले कारणवश आत्महत्याको प्रयास गर्नुभयो । उहाँले एकै पटक थुप्रै क्याप्सुल ट्याबलेट निल्नुभयो । उहाँलाई सघन उपचार कक्षमा भेन्टिलेटर मेसिनमा राखेर उपचार गरियो । एक महिनापछि उहाँ सकुशल घर फर्किनुभयो ।

जीवनले कुन बेला कोल्टे फेर्छ भन्न सकिन्न । चिकित्सकहरू मर्छन्,तर अन्य व्यक्तिको मृत्यु र उनीहरूको मृत्युमा के फरक हुन्छ ? एउटा फरक के छ भने, चिकित्सकहरूले आधुनिक औषधी उपचारले कतिको प्रभावकारी हुन्छ र जीवन कति क्षणिक छ, र उपचारको प्रयास कुन समयपछि व्यर्थ हुन्छ भन्ने आकलन गरिसकेका हुन्छन् । त्यसैले आफ्नो रोग अन्दाज भएपछि प्राय चिकित्सकहरूले मौनताका साथ र, मृत्युबारे त्यो स्थितिलाई स्वीकार गर्छन् । धेरै विघ्न उपचारको पछि लाग्दैनन् । वास्तवमै चिकित्सकहरूले अन्य व्यक्ति सरह सुन्दर स्वस्थ्य जीवनको चाहना राख्छन्, जीवनसँग अत्यन्त प्रेम गर्छन् । तर एउटा सीमापछि जीवन समाप्त हुन्छ । त्यो बिन्दु पुग्न थालेपछि कुनै प्रयासको अर्थ पनि रहँदैन ।



प्राय चिकित्सकहरू चुरोट र रक्सीका आदि हुन्छन् । सबै चिकित्सक यो अमल गर्दैनन् । तर अधिकांश चिकित्सकहरूलाई चुरोट पिउने बानी हुन्छ । घर परिवारबाट वर्षोंसम्म छुट्टिएर बसेका हुन्छन् । बाहिरी रूपमा खुसी र सफल देखिए पनि धेरै पटक वास्तविक खुसी, साथ र भावनात्मक माया, स्नेहबाट वञ्चित हुन्छन् । वा भनौँ आफैभित्र छट्पटिएका हुन्छन् । गुम्सिएका हुन्छन् । धेरै पटक चिकित्सकहरू तनाव/डिप्रेसनबाट पीडित हुन्छन् । यसको परिणाम चिकित्सकले आत्महत्या रोज्ने सम्भावना अथवा कदम चालेमा आश्चर्य हुँदैन । 



यो आयामबाट सोच्ने,हेर्ने हो भने चिकित्सकहरूको स्वास्थ्यको हेरचाह,परीक्षण, जीवनशैलीमा सकारात्मक परिवर्तन र जीवन उत्थानका निम्ति पहल आवश्यक देखिन्छ । तपाईँले सीमित मूल्य तिरेर चिकित्सक अथवा सर्जनलाई आफ्नो शरीर जँचाउनु हुन्छ । त्यो चिकित्सकले एउटा सीमित ज्याला पाए बापत तपाईँको सम्पूर्ण स्वास्थ्य,शरीर र जीवनको जिम्मेवारी आफ्नो टाउकोमा लिनुपर्छ । यो कुरा सुन्दा जति सजिलो लाग्छ,व्यवहारमा त्यतिकै तनाव र त्रासदीपूर्ण छ ।

वरिष्ठ चिकित्सकहरूले सबै जनमानसको फोन उठाउन नसक्नुको कारण अत्यन्त व्यस्तता र फोन उठाई सकेपछि वचनबद्धता र जिम्मेवारी वहन गर्नुपर्ने बाध्यता पनि हुन् । चिकित्सकले स्वयमलाई समय दिन सक्दैनन् । विभिन्न शोध अनुसार अधिकांश चिकित्सकहरूको मृत्यु मस्तिष्क घात,मुटुको घात र क्यान्सरका कारणले हुने गरेको पाइएको छ । ३० वर्ष अगाडि केही चिकित्सकको एचआइभी एड्सबाट मृत्यु भएको थियो भने अहिले यो स्थान मस्तिष्क घात र क्यान्सरले लिएको छ । 

जीवनमा राम्रो–नराम्रो दिन आउन सक्छ । कहिले काहीँ चिकित्सक स्वयंको स्वास्थ्य बिग्रन सक्छ । तनाव बढ्न सक्छ । अपेक्षा गरे जस्तो सहयोग र सद्भाव नपाइन पनि सक्छ । यी सबै परिस्थितिमा चिकित्सकहरूले आफ्नो स्वास्थ्य र जीवनको ख्याल राख्नुपर्छ । ‘म नहुँदैमा संसार सकिने छैन,म नहुँदैमा सबैले आँसु बगाउने पनि छैनन् र सबैले आफ्नो भागको जीवन बाँच्ने छन्’ भन्ने सोच राख्नै पर्छ ।

डा. अख्तर क्यान्सर रोग विशेषज्ञ हुन् 

  • प्रकाशित मिति : कात्तिक २, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया