‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरूले विश्वास नगर्न सक्छन् । अरूले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ,’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै भनिन् ‘तपाईँको रुचि परिवर्तन हुनसक्छ । यो स्वाभाविक हो । यसमा चिन्तित हुनु पर्दैन । आफ्ना भावनाहरू अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’
किशोरावस्थाका संवेगलाई जोड्दै उनले भनिन, ‘आफूले सोचेको कुरा अभिभावकले नबुझेको जस्तो लाग्न सक्छ । अभिभावकले भनेका कुरा आफूलाई चित्त नबुझेको हुनसक्छ । आफूलाई यस्तो लागे पनि अभिभावकले भने सन्तानको भविष्यका बारेमा सोचिरहनु भएको हुन्छ । यो भने महसुस गर्नुपर्छ ।’
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा उनले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग यसरी अन्तरक्रिया गरेकी हुन् ।
अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले उनको चलचित्र क्षेत्रमा प्रवेश गर्दा र काम गर्दाको अनुभव, सङ्घर्षका कुरासँगै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरू गरेकी थिइन । खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाउँदै भनिन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिन । उच्च शिक्षामा पनि इन्जिनियरिङ पढेँ । गणित गाह्रो लाग्थ्यो । मिहिनेत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो ।’
वैवाहिक जीवनका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘विवाह एउटा प्रक्रिया हो । आपसमा कुरा बुझ्न सक्ने भएपछि पेसा अगाडि बढाउन असजिलो हुँदैन ।’
विद्यार्थीहरूलाई विद्यालयभित्र उपलब्ध भयबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग एक घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो । सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भन्छन्, ‘कलाकारसँगै बैङ्क, वित्तीय क्षेत्र तथा विभिन्न प्रतिष्ठित निकायका प्रमुख कार्यकारी, वैज्ञानिक, प्राध्यापकसहित समाजका प्रभावशाली व्यक्तित्वलाई बोलाएर विद्यार्थीहरूसँग अन्तरक्रियात्मक छलफलको अवसर उपलब्ध गराइनेछ ।’
जीविकोपार्जनका लागि अपनाइने पेसा जुनसुकै भए पनि त्यस क्षेत्रसँग सम्बन्धित विषयमा मात्र ज्ञान राखेर पुग्दैन । यससँग सम्बन्धित क्षेत्रका विषयमा जानकारी हुनुपर्छ । यस कारण, पेसा एउटा अपनाए पनि ज्ञान र सीप भने धेरै क्षेत्रको लिनु पर्छ, भन्ने विद्यार्थीमा भाव बोध गराउनु क्याम्प सञ्चालनको अर्को महत्त्वपूर्ण पक्ष हो,’ झाको भनाइ छ ।
प्रमुखको सचिवालय सल्लाहकार अनुष्का श्रेष्ठ भन्छिन् ‘पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता कारणले बालबालिकाहरूमा आउन सक्ने हीनताबोध हटाउन काम गरिरहेका छौँ । बालबालिकामा हीनताबोध हटाएर आत्मविश्वास जगाउन सके समयले माग गरेकाअनुरुपका जनशक्ति उत्पादन गर्न सकिन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।