logo-img

बजारमा सिटामोल अभाव : औषधि लिमिटेड भन्छ- उत्पादन जारी छ, हल्लाको पछि नलागौँ

बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । 

कुराकानीको क्रममा उनले भने, ‘हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।’ उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ ।

‘डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छौँ । खरिद बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ’, प्रबन्ध निर्देशक पनेरुले भने। सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानाकर्षण गराएको थियो ।

खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।

लिमिटेडले पछिल्लो समय बढिरहेको डेंगुसङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । 

उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्न सक्ने लिमिटेडले जनाएको हो । 





  • प्रकाशित मिति : कात्तिक ९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया