logo-img

अंग प्रत्यारोपण केन्द्र विवाद : स्थानीय माग्छन् सेवा, केन्द्र भन्छ- जग्गा छैन

भक्तपुरस्थित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अगाडि स्थानीयहरूले विभिन्न माग राख्दै बिरोध प्रदर्शन गर्न थालेको झन्डै दुई महिना पुग्न लाग्यो । केन्द्रको बेथिति र अनियमितताविरूद्ध स्थानीयहरूले हरेक दिन बिहान ठिक १० बजेदेखि बिरोध प्रदर्शन गर्दै आएका छन् ।

त्यहाँको बेथिति र अनियमितताबारे मौखिक तथा लिखित रूपमा सरकारलाई जानकारी गराएपनि हालसम्म आफूहरू कुरा कसैले नसुनेको स्थानीयहरू बताउँछन् ।
केन्द्रसँग मुटुको उपचार तथा प्रत्यारोपन गर्ने सबै उपकरण भएपनि त्यससम्बन्धी सेवा सूचारु भएको छैन । जसकारण अस्पतालकै सेरोफेरोमा दैनिक दुई–देखि चारजना मुटुरोगीले ज्यान गुमाइरहेका छन् ।

केन्द्रसँग उपचार गर्ने उपकरण हुँदाहुँदै पनि सर्वसाधारणले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएपछि स्थानीयले मुटुसम्बन्धी सेवा सूचारु गर्नुपर्ने माग राख्दै दैनिक रूपमा प्रर्दशन गर्दै आएका छन् ।

स्थानीयले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई कारबाही गर्नुपर्ने, गैरकानूनी तरिकाले बर्खास्त गरिएका चिकित्सकहरूलाई पुनःबहाली गर्नुपर्ने, मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा रोगसम्बन्धी सेवालाई यथाशीघ्र सुचारू गर्नुपर्नेलगायत माग राख्दै आएका छन् ।

केन्द्रभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन बन्द गरेर कर्मचारीहरूको रोकिएको तलब सुविधा तत्काल भुक्तानी गर्नुपर्ने माग स्थानीय र पीडित पक्षले राख्दै आएका छन् । नागरिक समाजका अगुवा राजेन्द्र पुरी केन्द्रविरूद्ध गरिएको उक्त बिरोध प्रदर्शनमा स्थानीयवासीको कुनै स्वार्थ नरहेको जिकिर गर्छन् ।

उनी भन्छन्, ‘हामीलाई केही चाहिएको होइन । मात्र अस्पतालभित्रको बेथितिको अन्त्य होस् भन्ने हो । अस्पतालमा भएका उपकरण प्रयोगमा ल्याइयोस् र मिर्गौला मात्र होइन, मुटु, फोक्सो, कलेजोलगायत सबैको उपचार सेवा प्रदान गरियोस् भन्ने हो ।’



यस्तै स्थानीय चन्द्रलाल सुवाल पनि अस्पतालमा भएका उपकरण प्रयोगमा आउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामी भक्तपुरवासीलाई पहिले थाहा थिएन यो अस्पतालमा के–कस्ता सेवा लिन मिल्छ भनेर । हिजोआज विस्तारै चाल पायौं मिर्गौला मात्र होइन, मुटु, फोक्सो, कलेजो सबैको उपचार सुविधा हामीले यस अस्पतालबाट पाउने रहेछौँ । तर अस्पतालले मिर्गौला र कलेजो प्रत्यारोपणबाहेकको सेवा दिन आनाकानी गरिरहेको छ । केन्द्रसँग भएका सबै उपकरण सञ्चालनमा आए उपचार पाइन्थ्यो कि भन्ने मात्र हाम्रो स्वार्थ हो ।’

सुवालका अनुसार अस्पतालले जग्गा अभावको बाहना बनाएर स्थानीय तथा देशवासीलाई झुक्याइरहेको छ ।
केन्द्रमा भइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमा नै सरकारलाई जानकारी गराउँदा पनि पहुँच र शक्ति अगाडी स्थानीयको केही नचलेको उनले सुवालले बताए ।



उनले भने, ‘केन्द्रको बेतिथिबारे सरकारलाई भन्न लागेको तीन÷चार वर्ष नै भइसकेको खै । सुधार हुने कुनै छाँटकाँट देखिएको छैन ।’ बिरोध प्रर्दशनकैबीच स्थानीयले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भेटेर ज्ञापनपत्र समेत बुझाई सकेका छन् । झण्डै दुई सय जनाको हस्ताक्षरसहित स्थानीयले केन्द्रमा रहेका बेथिति र समस्याबारे स्वास्थ्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । तर मन्त्रीलाई भन्दा पनि आफूहरुको माग सम्बोधन हुन नसकेको गुनासो स्थानीयहरूको छ ।

चाँडै जग्गा प्राप्त हुने मन्त्रीको दाबी

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सेवा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्थिति तत्काल नरहेको उल्लेख गर्दै उपलब्ध चिकित्सकीय जनशक्तीलाई आवश्यक तालिम प्रदान गरेर स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रत्यारोपणको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमासमेत भएका चिकित्सक, नर्स र डाक्टरहरूलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक औँल्याएका छन् ।

उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विकल्प हामीसँग छैन । तत्काल औपचारीक योग्यता पुर्याएर जनशक्ती उत्पादन गर्ने स्थिति छैन ।  उपलब्ध चिकित्सकीय जनशक्ति उत्पादनका लागि आवश्यक थप तालिमहरू दिएर विभिन्न सेवा उपलब्ध गराउने काम सक्ने क्षमता वृद्धि गर्न जरूरी छ । प्रत्यारोपणको क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि भएका चिकित्सक, नर्स र डाक्टरहरूलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक छ ।’

मानव अंग प्रत्यारोपण क्षेत्रको उपयोग गरेर संवेदनशील उपचार क्षेत्रमा हेलचेक्र्याई नगर्नसमेत स्वास्थ्यमन्त्री पौडेलले आग्रह गरेका छन् । प्रत्यारोपण केन्द्र यतिबेला सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने सरकारी केन्द्रको रूपमा परिचित छ । तर आफ्नै जग्गा नहुँदा सेवा प्रवाहमा समस्या पैदा भएको शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् ।

‘अस्पतालका लागि जग्गा प्राप्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम अघि बढाइरहेको छ । जग्गा प्राप्त भएसँगै आन्तरिक स्रोत साधनबाट चाँडै नै तीन सय शैया क्षमताको भवन निमार्णतर्फ लाग्नेछौँ ।’ डा. श्रेष्ठले भने ।

उनका अनुसार भवन अभावका कारण हाल अस्पताल रहेको भवनबाट थप सेवा दिन असहज भइरहेको अवस्था छ । अस्पतालले जति चाँडो जग्गा पाउँछ, त्यति चाँडै नै भवन निमार्णको काम अघि बढाएर स्थानीयबासीले भने अनुसारका सेवा तत्काल सञ्चालन गरिने उनले जनाए ।

१०० दिने उपलब्धी सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्री पौडेलले भने केन्द्रका लागि भक्तपुरकै सूर्य विनायकमा जग्गा प्राप्त हुने क्रम अघि बढेको भन्दै छिट्टै आफ्नै जग्गामा भवन बनाएर सेवा बिस्तार गर्ने दाबी गरेका छन् ।

केन्द्रको व्यवहारलाई लिएर स्थानीयवासी आन्दोलित भएको यो पहिलोपटक होइन । यसभन्दा अगाडि पनि पटक–पटक केन्द्रलाई ताकेता गरेको स्थानीय बताउँछन् । स्थानीय र केन्द्रबीचमा किन दूरी बढीरहेको छ भन्नेतर्फ भने कसैको ध्यान पुगेको देखिँदैन ।

याे पनि :-

डा. पुकारचन्द्र श्रेष्ठ : अंग प्रत्यारोपणमा अब्बल, प्रशासन सञ्चालनमा असफल

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विवाद : नक्कली सर्जनबाट मिर्गौला प्रत्यारोपण गराएको आरोप

प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, नियमविपरीत कारबाही गरिएको चिकित्सकको दाबी

 

  • प्रकाशित मिति : कात्तिक ११, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया