काठमाडौं– संघीयता, सुशासन, समृद्धि र समाजवादको नारासहित संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरणको घोषणा भएको छ । केहीबेरअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच घोषणा भएको एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।
फोरम र नयाँ शक्तिबीचको पार्टी एकता घोषणाको माहोल एक वर्षअघि तत्कालीन एमाले र माओवादी मिलेर बनेको सत्तारुढ नेकपाको पार्टी एकता घोषणाभन्दा फरक छैन । नेता–कर्याकर्ताको भिडले एकेडमीको हल भरिएको छ । मञ्चमा दुवै पार्टीका वरिष्ठ नेताहरु छन् ।
समाजवादी पार्टी भने पनि मञ्चमा नेताहरुको आशनकै दर्जा फरक छ । उपेन्द्र यादव र बाबुराम भट्टराई सोफामा बसेका छन् भने दोस्रो वरीयताका नेताहरुलाई सामान्य कुर्सीमा राखिएको छ । घोषणा कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना पनि उपस्थित छन् । कार्यक्रम सञ्चालन गंगा श्रेष्ठले गरिरहेका छन् ।
यी दुई दलबीच दुई वर्षदेखि बारम्बार एकताको पहल भएको थियो । एकताका लागि दर्जनभन्दा बढी वार्ता भएका थिए । स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीले फोरमको चिह्न लिएर चुनाव लडेको थियो । भर्खर बनेको नयाँ शक्तिको चिह्नले निर्वाचन आयोगबाट वैधानिकता पाएको थिएन ।
एकतासँगै, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादव दुवै समाजवादी पार्टीका अध्यक्ष भएका छन् । सम्मुन्नत समाजवादलाई निर्देशक सिद्धान्त मान्ने उनीहरुले घोषणा गरेका छन् ।
सामाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपतिरहनुपर्नेमा जोड दिएको छ । संविधान संशोधन गरेर ११ वटा प्रदेश बनाउनुपर्ने उसको दृष्टिकोण छ ।
दलदर्तासम्बन्धी एैनअनुसार अब निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिनेछ ।
घोषणा सभामा बोल्दै सांसद राजेन्द्रप्रसाद श्रेष्ठले सत्तारुढ नेकपा र कांग्रेसलाई थारो गाइको संज्ञा दिएका छन् । कुनै प्रतिफलविना जनाताले थारो गाई पालिरहेको उनको टिप्पणी छ । समानुपातिक समावेशिताको आधारमा समाजवादी पार्टी अघि बढ्ने उनले बताएका छन् । सबैको अनुहार देखिने पार्टीको रुपामा यो पार्टी अगाडि बढाउने उनको प्रतिबद्धता छ । यस एकताले नयाँ राजनीतिक शक्तिको जन्म दिने विश्वास उनले राखेका छन् ।
श्रेष्ठले सत्तारुढ नेकपालाई केन्द्रीकृत भएको आरोप लगाएका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी केन्द्रीकृत शक्ति रहेछ । हरेक कोणबाट यो केन्द्रीकृत छ,’ उनको टिप्पणी छ ।
‘अब समाजवादीलाई हेरेर चित्त बुझाउने होइन, त्यहीँ समाजवादिको झन्डा फहराउने हो,’ भर्खरै सभामा बोल्दै श्रेष्ठले भने, ‘सिंहदरबारलाई हेरेर चित्त बुझाउने होइन, त्यहाँ समाजवादीको झन्डा फहराउने हो । त्यसका लागि अब वडादेखि नै आउने निर्वाचन जित्न तयारी थाल्नुपर्छ ।’
घोषणा सभामा बोल्दै पूर्वशिक्षामन्त्री रेणुकुमारी यादवले डा. बाबुराम भट्टराईलाई ‘एेतिहासिक नेता’ भनेकी छिन् । हिन्दीमा सम्बोधन गरेकी यादवले बाबुराम र उपेन्द्रले नेपालमा सामाजवादको नेतृत्व गर्ने बताइन् । बिपी कोइरालालले समाजवादको वकालत गरे पनि नेपाली कांग्रेसले त्यसलाई अवलम्बन नगरेको उनको टिप्पणी छ ।
संविधान आधा गिलास पानी भएको डा. भट्टराईको टिप्पणीलाई स्मरण गर्दै यादवले ‘अब संविधान संशोधन गरेर आधा होइन, भरि पानी बनाउनुपर्ने’ बताइन् । त्यसपछि हिमाल, पहाड, तराई सबैतिर दीपावली गर्ने उनको सोच छ ।
सभामा बोल्दै नयाँ शक्ति नेत्री हिसिला यमीले प्रदेशको नामकरण जातीयताको आधारमा गर्नुपर्ने बताइन् । प्रदेश–३ लाई जोड दिँदै उनले प्रश्न गरिन्, ‘प्रदेश–३ को नाम नेवा–ताम्सालिङ भन्न पाउने कि नपाउने ?
फोरम र नयाँ शक्तबीच भएको सहमतिको पत्र रामसहायकप्रसाद यादवले पढेर सुनाएका छन् । अध्यक्षद्वयको बोल्ने पालो आउँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।