काठमाडाैं– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरणको घोषणा भएको छ । केहीबेरअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच घोषणा भएको एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।
घोषणा सभामा बोल्दै सांसद राजेन्द्रप्रसाद श्रेष्ठले सत्तारुढ नेकपा र कांग्रेसलाई थारो गाईको संज्ञा दिए । कुनै प्रतिफलविना जनाताले थारो गाई पालिरहेको उनले टिप्पणी गरे । समानुपातिक समावेशिताको आधारमा समाजवादी पार्टी अघि बढ्ने उनले बताए । सबैको अनुहार देखिने पार्टीको रुपामा यो पार्टी अगाडि बढाउने उनको प्रतिबद्धता छ । यस एकताले नयाँ राजनीतिक शक्तिको जन्म दिने विश्वास उनले राखे ।
श्रेष्ठले सत्तारुढ नेकपालाई केन्द्रीकृत भएको आरोप लगाए । ‘नेपाल कम्युनिस्ट पार्टी केन्द्रीकृत शक्ति रहेछ । हरेक कोणबाट यो केन्द्रीकृत छ,’ उनले भने ।
‘अब समाजवादीलाई हेरेर चित्त बुझाउने होइन, त्यहीँ समाजवादिको झन्डा फहराउने हो,’ भर्खरै सभामा बोल्दै श्रेष्ठले भने, ‘सिंहदरबारलाई हेरेर चित्त बुझाउने होइन, त्यहाँ समाजवादीको झन्डा फहराउने हो । त्यसका लागि अब वडादेखि नै आउने निर्वाचन जित्न तयारी थाल्नुपर्छ ।’
घोषणा सभामा बोल्दै पूर्वशिक्षामन्त्री रेणुकुमारी यादवले डा. बाबुराम भट्टराईलाई ‘ऐतिहासिक नेता’ भनिन् । हिन्दीमा सम्बोधन गरेकी यादवले बाबुराम र उपेन्द्रले नेपालमा सामाजवादको नेतृत्व गर्ने बताइन् । बिपी कोइरालालले समाजवादको वकालत गरे पनि नेपाली कांग्रेसले त्यसलाई अवलम्बन नगरेको उनको टिप्पणी छ ।
संविधान आधा गिलास पानी भएको डा. भट्टराईको टिप्पणीलाई स्मरण गर्दै यादवले ‘अब संविधान संशोधन गरेर आधा होइन, भरि पानी बनाउनुपर्ने’ बताइन् । त्यसपछि हिमाल, पहाड, तराई सबैतिर दीपावली गर्ने उनको सोच छ ।
सभामा बोल्दै नयाँ शक्ति नेत्री हिसिला यमीले प्रदेशको नामकरण जातीयताको आधारमा गर्नुपर्ने बताइन् । प्रदेश–३ लाई जोड दिँदै उनले प्रश्न गरिन्, ‘प्रदेश–३ को नाम नेवा–ताम्सालिङ भन्न पाउने कि नपाउने ?
पूर्वसभामुख दमननाथ ढुंगानाले नेताहरुमा, नेतृत्वमा आचरणको अभाव देखिएको बताए । ‘विचार र संगठनको अभाव होइन, आचारणको अभाव छ,’ उनले भने । समाजवादी पार्टीले राष्ट्रको आवश्यकता पूरा गर्ने उनको विश्वास छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजवादी पार्टी वैकल्पिक पार्टी नभई मुलुककै एक नम्बर शक्ति बन्नुपर्ने बताए । ‘हामी वैकल्पिक शक्ति होइन, मुलुककै एक नम्बर शक्ति बन्नुपर्छ,’ उनले भने, ‘अब यसमा नेतृत्वले भूमिका खेल्नुपर्छ ।’
मुलुककै ठूलो शक्ति बनेर यो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्ने उनले बताए । मुख्यमन्त्री राउतले प्रदेश २ मा मात्रै नभएर आउँदा दिनमा ७ वटै प्रदेशमा समाजवादीको सरकार बन्नुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री तथा वरिष्ठ नेता अशोककुमार राईले वर्षौंदेखि जारी रहेको प्रयत्नको फल पार्टी एकता रहेको बताए । विचार, आचरण, मूल्यमान्यताको हिसाबले यो देशको वास्तविक पार्टी समाजवादी पार्टी रहेको उनको भनाइ छ । ‘नेपाली राजनीतिमा ४५ वर्षदेखि छु । ३० वर्षदेखि सिंहदरबारको आसपासमा हिँडिरहेको छु,’ । राईले भने, ‘सिंहदरबारको आसपासमा जाँदा स्याल कराएको सुनिन्छ । सिंहहरु कराएको सुनिँदैन । सिहहरु कता गए भनेर चिन्तन गर्दा आज प्रज्ञा भवनमा छन् ।’
त्यसैगरी नवगठित पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपालाई एकतामा सामेल हुन आह्वान गरेका छन् । ठाँउ–ठाँउ सटर खोलेर बस्ने दिन गएको बताउँदै उनले भने, ‘अब आउनुहोस्, सबै मिलेर अगाडि बढौँ ।’
त्यसैगरी संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन नगरे सरकार जुनसुकै वेला पनि छाड्ने बताएका छन् । । संविधान संशोधन नगरे आन्दोलनको ठूलो आँधीबेहरी आउने बताउँदै उनले भने, ‘सडक, सदन, सरकार हाम्रो आन्दोलननको मोर्चा हुन् ।’ सिद्धान्तमा संघीयता लेखिए पनि व्यवहारमा लागू नभएको उनको तर्क थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।