संगीत सिक्नकै लागि १३ वर्षमै घर छाडेँ

मेरो जन्म एक ब्राह्मण परिवारमा भयो, बाबा मेहर सिंह र आमा चन्द्रकान्ताको कोखबाट । मेरा एक दाइ र एक बहिनी छन् । जम्मा हाम्रो पाँचजनाको परिवार हो । बाबा ज्योतिषाचार्य हुनुहुन्थ्यो, कर्मकाण्डमा उहाँको राम्रो दख्खल थियो । मेरी आमा एक सामान्य गृहिणी हुनुहुन्थ्यो । 

मेरो जन्म मेरठमा भए पनि, तीन–चार वर्षको नहुँदै हामी मेरठ छाडेर दिल्ली बसाइँ सर्यौं । दिल्लीमा हाम्रो बसाइ मयुर बिहारमा थियो । बाबा यजमानी गरेर परिवार चनाउने चलाउने गर्नुहुन्थयो । यजमानको घरमा पूजा–पाठ गर्ने र अन्य धार्मिक संस्कार गर्दै हिँड्नु उहाँको दैनिकी नै थियो । हाम्रो परिवार मध्यमवर्गीय परिवार भए पनि बाबाको प्रतिष्ठा ठूलो थियो । उहाँ सबैतिर चर्चित र प्रतिष्ठित हुनुहुन्थ्यो । माछेहरू उहाँलाई एक बौद्धिक व्यक्तितवका रूपमा धेरै सम्मान दिन्थे । त्यसको प्रभाव हामी छोराछोरीको आचरणमा परेको थियो । उहाँ हामीलाई सधैँ नैतिकताको परिधिमा राखेर सुकर्म मात्र गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो । अरुले पनि सोच्थे– महाशय मेहर सिंहको सन्तान हो, संस्कारी त होला नै ! 

हामी सानो हुँदा बाबा कहिले एकतारे त कहिले हार्माेमियम बजाएर गाउनुहुन्थ्यो । ब्राह्मण परिवारमा वैदिक मन्त्रको उच्चारण त यसै पनि हुन्छ, बाबा मन्त्रमा संगीत भरेर गाउनुहुन्थ्यो । कहिले चन्द्र ग्रहणको मन्त्र, कहिले सूर्य ग्रहणको मन्त्र त कहिले हवनको, सबै संगीतमय हुन्थ्यो । मलाई अहिले पनि सम्झना छ, म सानै थिएँ, हाम्रोतिर आरती पनि फरक तरिकाले गाइन्थ्यो । म संगीतमय माहोल भएको घरमा जन्मेको, हुर्केको भएर होला, मभित्र संगीतको बिउँ सानैमा रोपियो । अझ भनौँ, त्यतिवेला रोपिएकै संगीतको बिउ नै आज म गायक हुनुको उपज हो । 

सुरुवाती वर्षहरूमा यही लगावका कारण फाइदा कम नोक्सान ज्यादा भयो । घरमा आउने हरेक पाहुना, इष्टमित्र, जो–कोहीले, ‘ठूलो भएर के बन्ने ? भनेर प्रश्न गर्दा मेरो उत्तर हुन्थ्यो– संगीतकार । मैले यसो भन्दा उनीहरूको मुहार साँच्चै हेर्नलायक हुन्थ्यो । मेरो उत्तर सुनेर उनीहरुले यस्तो अनुहार बनाउँथे कि मानौँ मैले ठूलै अपराध अथवा बदमासी गरेँ । संगीतलाई ती दिनहरुमा निकै हल्का र अनादर भावले हेरिन्थ्यो । यस्तो अवस्थामा मैले संगीतकार हुने कुरा खुलेआम भन्दा मेरो अवहेलना हुन्थ्यो । 

मैले त्यस समयमा अवहेलना मिश्रित धेरै प्रश्नको सामाना गर्नुपरेको थियो । अलि सीधा भाषामा भन्नुपर्दा, धेरैबाट गाली खानु खाएँ । गाली मात्रै होइन पिटाइ पनि धेरै खाएँ । तर, म संगीतमा यति डुबिसकेको थिएँ कि मलाई गाली, आलोचना, पिटाइको प्रभाव नै पर्न छाडिसकेको थियो । गाली सुन्ने, पिटाइ खाने त मलाई बानी नै परिसकेको थियो । कसैले मसँग रामै्र अभिप्राय राखेर बोले पनि मलाई शंका लाग्न थालिहाल्थ्यो, केही समयपछि यो मान्छेले मेरो बेइज्जत गर्नेवाला छ, म सुन्न तयार हुनुपर्छ । 

बाबाले मेरो भावना धेरै हदसम्म बुझ्नुहुन्थ्यो । उहाँ यो पनि मान्नुहुन्थ्यो कि संगीत सिक्नु गलत होइन । तर, छिमेकी र आफन्तको टिप्पणीले उहाँको कान भरिएका हुन्थे, फेरि आफ्नो छोरालाई अरूले आबारा भयो भनेको सुन्दा कुनचाहिँ बाबालाई राम्रो लाग्ला र ? छोरो संगीतमा लागेर कतै बिग्रन्छ पो कि भन्ने चिन्ता उहाँलाई थियो । त्यसैले मेरो सपना, इच्छालाई उहाँले सधै मौन रूपमै समर्थन गर्नुभयो । 



मेरो संगीत र पढाइ यही सिलसिला र प्रतिकूलतामा अघि बढ्यो । संगीतले मेरो मनमा करुणा र संवेदना पनि बढ्दै गयो । संवेदना र करुणा बढेसँगै मन कलात्मक हुँदै गयो । मस्तिष्कमा विभिन्न प्रकारका रचनात्मकताको सिर्जना हुँदै गयो । आफूमा यस्तो सकरात्मक परिवर्तन आएको खुसीको कुरा पनि कसैसँग बाँड्न सकिनँ । जे होस्, मनमनै सोचिरहेको हुन्थेँ, अब धेरै साधना गर्छु । त्यसपछि नै हो, मैले अब संगीत नै साधना गर्ने दृढ संकल्प लिएको, संगीतमै केही गर्छु भनेर निर्णय गरेको ।

त्यस समय संगीत सिक्न भने सजिलो थिएन । संगीत सिकाउने संस्था त थिए, तर सबै निजी थिए । सरकारी थिएनन् । निजीमा संगीत सिक्न धेरै पैसा लाग्थ्यो, जुन मसँग थिएन । ती भएका संस्थानमा अधिकांश धनीका बच्चा थिए । यसबाहेक संगीत सिक्न पाउनका लागि प्रतिष्ठित परिवारको हुनुपर्थ्यो, त्यो हैसियत पनि म सँग थिएन ।



मैले निर्णय गरेँ, जसरी पनि संगीत सिक्छु र आफ्नै तरिकाले सिक्छु । त्यसपछि मैले घर छाड्ने सोच बनाएँ र त्यहीँ सोचलाई अन्तिम निर्णय पनि । तर, एकपटक घरमा कुरा हेरौँ, कतै मानि पो हाल्छन् कि भन्ने भयो । घरमा कुरा राखेको मात्रै के थियो घरमा त कोलाहल मच्चियो । सुरुमा त उनीहरूले सम्झाउने प्रयास गरे । संगीतमा लागेर जीविकोपार्जन हुँदैन, यति मरिहत्ते गर्नुपर्ने केही छैन,  बिजनेस गर भनेर सबैले सुझाए । तर, मैले आफ्नो हठ नछाडेपछि दोस्रो चरणको बहस सुरु भयो । 

दोस्रो चरणको बहसमा उनीहरू केही लचक भएर प्रस्तुत भए । र भने– संगीत नै गर्नु छ भनेपनि यहीँ बसेर सिक । बाहिर जानु पर्ने के आवश्यकता छ ? तर पनि मलाई अन्तरमनमा लाग्यो, परमात्माको पनि यही चाहना छ कि मैले घर छाड्नैपर्छ, केही गर्नैपर्छ । परमात्माको कृपा ममाथि भए म न्याय गर्नेछु । फेरि मलाई संगीत सिक्न एकान्तको पनि आवश्यकता थियो । त्यसकारण घरमा बसेरै संगीत सिक्न सम्भव होलाजस्तो लागेन । तमाम बहसपश्चात् मैले १३ वर्षको उमेरमै एकान्तवादको खोजी गर्दै घरबाट हिडेँ । त्यसदिनदेखि अहिलेसम्म घुमिरहेको नै छु, एक घुमक्कड जिज्ञासु भएर । 

लाइभ हिन्दुस्तानको ‘मेरी कहानी’ ब्लगअन्तर्गत प्रकाशित भएको कैलाश खेरको ब्लगको अनुवादित अंश । 

  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार १८:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया