विराटनगर– प्रदेश १ को स्थायी राजधानी विराटनगर नै तोकिएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले मोरङको विराटनगरलाई राजधानी बनाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । प्रदेश सभामा सोमबार ९३ मध्ये ८६ सदस्य उपस्थित थिए । उनीहरु सबैले विराटनगरको पक्षमा मतदान गरे । विपक्षमा एउटा पनि मत परेन ।
यसअघि प्रदेश सभामा धनकुटा, इटहरीलगायतका ठाउँहरुलाई राजधानी बनाउनु पर्ने चार प्रस्ताव दर्ता भएको थियो ।
सोमबारमात्र प्रदेशका सबै कार्यालय विराटनगरमा नै हुनु पर्ने माग राख्दै विरोध प्रदर्शन गरिएको थियो । नेकपाको समेत समर्थन रहेको अनिश्चितकालीन विराटनगर हड्ताल भने प्रदेशका मुख्यमन्त्री शेरधन राईले माग पूरा गर्ने आश्वासन दिएपछि तत्कालका लागि स्थगित गरिएको छ ।
प्रदेशको स्थायी राजधानी तोकिए पनि प्रदेशको नाममा सहमति अझै जुट्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।