logo-img

‘ट्रयाकर डग’ टाइगर, जसले प्राप्त गर्‍यो प्रहरीको ‘डग अफ द एयर’ उपाधि [भिडियोसहित]

ती दिन ती पात्रमा आज मान्छे होइन, एउटा कुकुरको कथा । 
नाम हो–टाइगर । जसले अपराधीको खोजी तथा पहिचानमा तारिफ योग्य काम गर्‍यो । 

त्यो साल थियो २०७९ । महिना थियो जेठ । यही समय थियो–जति बेला काठमाडौंमा जन्मियो, एउटा जर्मन सेफर्ड कुकुर  । पछिल्लो १८ महिनादेखि नेपाल प्रहरी केनाइन कार्यालय, महाराजगंजमा डिउटीमा छ, टाइगर । जो, उम्दा ‘ट्रयाकर’ भएर निस्किएको छ । वाह-वाही कमाएको छ ।

टाइगरलाई दक्ष बनाएका हुन, केनाइन कार्यालयमा विगत १२ वर्षदेखि कार्यरत असई भीमप्रसाद गौतमले । अर्थात् टाइगरका गुरु हुन्, गौतम । टाइगरलाई सुरुदेखि नै प्रशिक्षित गर्नुका साथै परिचालनमा पनि गौतम नै खटिएका छन् । 

गौतमको अनुभवमा काम नहुँदा शान्त बस्ने स्वभावको टाइगरलाई जब अपराधी पत्ता लगाउन परिचालन गर्न लगाइन्छ तब ड्युटी गर्न पाएकोमा खुसीले फुरुङ्ग हुन्छ । अपराध अनुसन्धानको दायरालाई साँघुरो बनाउन सहयोग गर्न पाएकोमा टाइगर दङ्ग पर्छ ।  

टाइगर आफ्नो जिम्मेवारीमा कति होसियार छ भन्ने कुरा उसले दिएको परिणामबाटै थाहा हुन्छ । जस्तो कि सिन्धुपाल्चोकको एउटा हत्या काण्ड । यति मात्र होइन,गत वर्ष नुवाकोटमा भएको हत्या काण्डमा पनि टाइगरले अभियुक्त समात्न महत्त्वपूर्ण भूमिका खेल्यो । 



यी दुवै घटनामा टाइगरलाई परिचालित गर्ने प्रहरी अधिकारी अर्थात् ह्यान्डलर थिए, गौतम ।

टाइगरजस्तै ड्रयुक, टाइसन, जंगे, रोज, एनी, डेनीलगायतका तालिमप्राप्त कुकुरहरूले पनि प्रहरीको साथी बनेर अपराध अनुसन्धानमा सघाइ रहेका छन् । यस मध्य यो वर्ष टाइगर अब्बल रह्यो,यो बेग्लै कुरा हो ।



नेपाल प्रहरी केनाइन कार्यालयमा कार्यरत डिआइजी डा. देउती गुरुङ नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरको प्रयोग गरेको आज कुकुर तिहारको दिन ५५ वर्ष पुगेको बताउँछिन् । 

‘५५ वर्ष अघि स्थापना भएको आजको नेपाल प्रहरी केनाइन कार्यालय मार्फत एक सय वटा प्रहरी कुकुरहरूले १२ स्थानबाट आ–आफ्नो डिउटी गरिरहेकै छ’ डिआइजी डा. देउती गुरुङले फरकधारसँग भनिन्, ‘अपराध अनुसन्धान, हात–हतियार तथा विस्फोटक पदार्थ अनि लागू औषध खोजी र पहिचान लगायतका काममा डटेका छन्, यी तालिम प्राप्त प्रहरी कुकुरहरू ।’

त्यही मध्यको खास हो–यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर, टाइगर ।    

  • प्रकाशित मिति : कात्तिक १५, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया