logo-img

गाई पाल्ने चलन हराउँदै, स्थानीय जातका गाई भेट्टाउनै मुस्किल

म्याग्दीको धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन हराउँदै गएको छ । तीन सय ५० घर रहेको धवलागिरि–७ ताकम गाउँमा अहिले दुई घरमा मात्र गाई पालन गरिएको छ ।

धवलागिरि–७ काफलडाँडाका नेत्रप्रसाद पुनले गाई पाल्न छोडेको १५ वर्ष भयो । ‘थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ’, उनी भन्छन्, ‘करिब तीन दशक गाई पालेर लेकबेँसी गरेको सम्झँदै खनजोत गर्ने मिनिटेलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो । गाई पाल्ने चलन हरायो ।’ 

पूजाआजा र धार्मिक कार्यमा आवश्यकपर्ने दूध तथा गहुँतका लागि गाईका मालिकलाई पहिले नै भन्नुपर्ने स्थानीय ओमबहादुर घिमिरेले बताए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आएको छ’, उनले भने, ‘गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन् ।’

पहाडका गाउँघरमा स्थानीय जातका गाई भेट्टाउन मुस्किल पर्न थालेको छ । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाई गोरु दुर्लभ हुन थालेका छन् । उत्पादनको लागत घटाउन र आम्दानी बढाउन उन्नत जातका व्यावसायिक पशुपालन उपयुक्त मानिन थालेपछि उन्नत जात र व्यावसायिकताले स्थानीय रैथाने जातका गाई गौशाला र मन्दिरमा सीमित हुन थालेका छन् ।

बढी दूध दिने उन्नत र वर्णशङ्कर जातका गाई र भैँसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको धवलागिरि–७ का इन्द्रलाल पौडेलले बताए ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा हाल २० हजारको सङ्ख्यामा गाई पालिएका छन् । फरकफरक जातका गाईपालन गरिएको भन्दै सबैको अलगअलग गणना र तत्थ्याङ्क भने नरहेको केन्द्रका नायब पशु सेवा प्राविधिक गणेश रिजालले बताए । 



‘मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ’, उनले भने, ‘सरकारले पनि बढी दूध दिने गाईभैँसीमा जोड दिएकाले वर्णशङ्कर र उन्नत जातका गाई पाल्नेको सङ्ख्या बढ्ने र स्थानीय जातका घटेको देखिन्छ ।’

स्थानीय जातका गाईको महत्व  



कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अभिलेख अनुसार नेपालमा आठ प्रजातिका गाई छन् । म्याग्दीसहितका जिल्लामा पालिने गाईका जातलाई पहाडी भनिन्छ । पहाडी गाईहरू भूटान, सिक्किम र दार्जिलिङबाट नेपालमा भित्रिएका हुन्  । 

दुई सयदेखि तीन सय किलोग्रामसम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । एक वेतमा एक सय ५० देखि दुईसय लिटरसम्म दूध दिन्छन् । पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ । याक, नाक र चौरी, लुलु, होलिस्टेन फ्रिजन, ब्रोन स्विस र शाही वाल नेपालमा पालिने गाईका अन्य जात रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्व आँखा र मष्तिष्कका लागि महत्वपूर्ण मानिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले बताए ।  

  • प्रकाशित मिति : कात्तिक १७, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया