भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ३६ पुगेको छ । प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो ।
दुर्घटनामा थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाई उद्धार गरी देहरादून लगिएको छ । सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्बिरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ ।
उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भने, ‘अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गम्भीर घाइते भएका तीन जनालाई हेलिकाेप्टरमार्फत अस्पताल लगिएको छ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग स्वरूप दिने जनाएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजार नजिकैको जंगलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन् ।
भारतको पहाडी इलाकामा सडकको दुरावस्था, पूराना यातायातका साधन र चालकको लापर्बाहीका कारण हुने दुर्घटनाका कारण हरेक बर्ष सयौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।