logo-img

जलवायु सम्मेलनमा वन मन्त्रालयको रजाइँ, विज्ञलाई छाडी आफ्नो स्टोरका कर्मचारीसमेतलाई अजरबैजान उडाउँदै
सम्मेलनको नाममा मन्त्रीका छोराछोरीदेखि ठूला नेताका नातेदारसम्म जाँदै छन् घुम्न

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन कोप-२९मा विज्ञलाई छाडी वन तथा वातावरण मन्त्रालयले आफ्नै कर्मचारीको जम्बो टोलीलाई अजरबैजानको बाकु उडाउन लागेको छ ।

जलवायुसम्बन्धी काम गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाको स्पोन्सर हुने उक्त भ्रमणमा मन्त्रालयले आफ्नै कर्मचारीलाई मात्र छानेको हो । त्यसमा लेखादेखि स्टोर शाखासम्मका कर्मचारी रहेका छन् ।  

कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म  बाकुमा हुँदै छ । मन्त्रालय स्रोतका अनुसार सहसचिव सिन्धु ढुंगानासहितको एक टोली मंगलबार बाकु पुगिसकेको छ । बाँकी टोली केही दिनमा उड्ने तयारीमा छन् । मंगलबारसम्म २६ जना कर्मचारीको नाम रजिष्टेशन भएको छ । ती सबैलाई बाकु पठाउनका लागि सचिव दिपक खराल, सहसचिव बुद्धि पौडेलले विभिन्न विकास साझेदार संस्थाहरूलाई प्रायोजनका लागि दबाब दिएको स्रोतको दाबी छ ।

यो पटक मन्त्रालयले यस क्षेत्रमा काम गर्ने समुदाय, नागरिक समाज, सीमान्तकृत वर्ग, मिडियालाई भने छुटाएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयका कर्मचारीको लामो सूची हुँदा समेत मौनता साँधेका छन् । मन्त्री ठकुरी र सचिव खरालको मिलेमतोमा ती नामहरू छनौट गरिएको बताइएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा निकटबाट आएका केही नामसमेत त्यसमा परेका छन् ।

‘यति धेरै कर्मचारीलाई जलवायु सम्मेलनमा पठाउनुको कुनै अर्थ छैन । प्राय ती सबै घुम्न जान लागेका हुन् । यस्तो बदमासी हुँदा समेत सबै मौन छन्,’ सम्मेलनका बहानामा घुम्न जानेको लामो लिस्टप्रति असन्तुष्ट एक कर्मचारीले भने ।



बाकुमा घुम्न मन्त्री शाहीका छोरा राजेन्द्र शाही, सचिवालयका कर्मचारी समेत जाँदै छन् । यो बाहेक राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको बेग्लै टोली समेत त्यसतर्फ जाँदै छ । यस विषयमा मन्त्रालयका सचिव खराललाई सोध्दा सबै कर्मचारीको जाने इच्छा तीव्र हुँदा व्यवस्थापन गर्नै गाह्रो परेको प्रतिक्रिया दिए ।

वनका कर्मचारीहरू महेश्वर ढकाल, राजु सापकोटा, शिव खनाल,सुमन सुवेदी, नारायण पोखरेल, हिमाल शिवाकोटी, दिपा वली, मेघनाथ काफ्ले, राजेन्द्र ढुंगाना, केशवराज जोशीसहित २६ जनाको सूची बाकुको लागि बनेको हो ।



‘ती सबैलाई हवाई टिकेट र खाने बस्ने सुविधाका लागि प्रत्येक संस्थालाई दबाब छ,’ स्रोतले भन्यो । सचिव खरालले मन्त्रालयले भनेका नाम बाहेक अरू कसैलाई पनि सहयोग नगर्न सबै संस्थाहरूलाई दबाबसमेत दिएको बताइएको छ ।  

  • प्रकाशित मिति : कात्तिक २१, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया