अन्तिम समयमा मतदाताहरूको निर्णायक रुझान एक वा अर्को पक्षमा जानेछ भनेर ट्रम्प वा ह्यारिस पक्षले राखेको अपेक्षा अहिलेसम्म हेर्दा पुरा नभएको जस्तो देखिन्छ।
इस्ट कोस्टका अधिकांश प्रतिस्पर्धात्मक हुने ठानिएका राज्यहरूमा मतदान सम्पन्न भएको छ र तीव्र गतिमा मतगणनाको काम अघि बढ्दैछ। एउटा ऐतिहासिक राष्ट्रपतीय चुनावको प्रारम्भिक तस्बिर बाहिर आइरहेको छ।
मतदानको अन्तिम परिणाम अझै पनि अनिश्चित छ तर अमेरिका अर्को एउटा कडा प्रतिस्पर्धा भएको निर्वाचनतर्फ अघि बढ्ने सम्भावना छ।
'स्विङ स्टेट' को अवस्था के छ?
जित्नै पर्ने अवस्था रहेको जोर्जा र नर्थ क्यारलाइनामा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को तुलनामा परम्परागत क्षेत्रहरूमा अझै राम्रो गरेको पाइएको छ। कमला ह्यारिसले सहरी र सहरबाहिरका काउन्टीहरूमा बाइडनले ल्याएको सङ्ख्यामा नै मत ल्याइरहेकी छन् तर अहिलेसम्म उनले उल्लेख्य सुधार हासिल गरेको देखिएको छैन्।
अहिलेको मतान्तरमा परिवर्तन हुनसक्ने भएपनि जोर्जा र नर्थ क्यारलाइनामा ट्रम्पको साँघुरो जितको अर्थ सबै जनाको नजर डेमोक्र्याटिकहरूको किल्ला रहेका द ग्रेट लेक्सको आसपासका राज्यहरूमा हुनेछ।
अहिलेको विन्दुमा विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनिआ ह्यारिसका लागि ह्वाइट हाउसमा पुग्न सघाउन सक्ने सम्भवतः एउटै बाटो हुनसक्छ। र पेन्सिल्भेनिआको अन्तिम मत परिणाम कयौँ दिन नआउनसक्छ।
हामीले मत खसालेका मतदातामाझ गरिने सर्वेक्षण अर्थात् एक्जिट पोलबाट अर्को तथ्याङ्क पनि पाइरहेका छौँ जसले यो निर्वाचनमा महिला र पुरुषबीचको विभाजनलाई पनि देखाइरहेको छ।
बहुमत महिलाहरूले कमला ह्यारिसलाई समर्थन गरिरहेका देखिन्छ भने धेरै पुरुषहरूले डोनल्ड ट्रम्पलाई समर्थन गरिरहेका देखिएको छ। यो आश्चर्यजनक होइन।
तर सबैलाई छक्क पार्ने कुरा के हो भने, अहिलेसम्मको जानकारी अनुसार, ह्यारिसको पक्षमा ५४ प्रतिशत महिलाहरूले भोट खसालेका छन् जुन सन् २०२० मा जो बाइडनले प्राप्त गरेको ५७ प्रतिशत महिला समर्थन भन्दा कम हो।
महिला र पुरुषको राजनीतिक विचारधारामा इतिहासकै सबैभन्दा ठूलो मतभिन्नता रहेको भन्ने बहस अपरिपक्वजस्तो देखियो।
उच्च मतदान
मतगणना सम्पन्न हुने समयसम्म आइपुग्दा एक्जिट पोलको परिणाम परिवर्तन हुँदै जान्छ र यसलाई साधारण मार्गनिर्देशकका रूपमा मात्रै लिनु उपयुक्त हुन्छ। तर डेमोक्र्याट्सहरूले चार वर्ष यताको तुलनामा महिलाहरूको समर्थन गुमाएको कुरा सही भए त्यो ह्यारिस समूहका लागि चिन्ताको विषय हुनेछ।
अहिलेको विन्दुमा एउटा कुरा स्पष्ट छ। चुनावमा मत खसाउनेको सङ्ख्या आधुनिक अमेरिकाको इतिहासमा नै सर्वाधिक धेरै बन्न लागेको छ। यसपटक उक्त सङ्ख्या सन् २०२० को ६५.९ प्रतिशतलाई पार गर्नसक्ने देखिन्छ।
ट्रम्प र ह्यारिस दुवैले यसपटकको निर्वाचनमा धेरै कुरा दाउमा रहेको बताइरहेका थिए । अमेरिकी नागरिकहरूले उक्त भनाइलाई सुनेको जस्तो देखिन्छ।
बिबिसीबाट
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।