माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा निरीक्षकको लापरबाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो । २० चैत २०८० मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए ।
गत १३ असोजमा उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही ४ कात्तिकमा राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुबा परशुराम राईले जानकारी दिए ।
हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण भएका हुन् । पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३.५५ थियो । अब भने पछिल्लो नतिजा अर्थात् (३.४५ जीपीए) कायम हुने जनाइएको छ ।
परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसइई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए ।
छात्रातर्फ थर्पुडाँडा माध्यमिक विद्यालयकै क्याल्सी राईले ३.३९ जीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट भएका थिइन् । केपिलासगढी गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई प्रोत्साहनस्वरूप एक/एक लाख पुरस्कार दिँदै आएको छ । गाउँपालिकाले पुरस्कार दिन थालेपछि थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई फेल गराउने नियतले उत्तरपुस्तिका कोरेको बुबा पर्शुरामको आरोप छ ।
उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै गत २२ असोजमा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर, उनलाई हालसम्म कुनै कारबाही गरिएको छैन । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।