यूएईमा जारी आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा नेपालले आइतबार थाइल्याण्डलाई १ सय ६ रनले हरायो ।
नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः थाइल्याण्ड र कुवेतलाई हराएको थियो । तेस्रो खेलमा भने नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । थाइल्याण्डको यो तेस्रो हार हो ।
आफ्नो चौथो खेलमा नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
थाइल्याण्डका ६ ब्याटर शून्यमै आउट भए । नेपालका लागि कुसुम गोदारले तीन, रिया शर्मा र रचना चौधरीले दुई/दुई र कप्तान पूजा महतोले एक विकेट लिइन् ।
त्यसअघि यूएईको द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका लागि साना प्रवीनले सर्वाधिक ५३ रन बनाइन् ।
४६ बलको सामना गरेकी उनले सात चौका प्रहार गरिन् । जारी प्रतियोगितामा यो सानाको पहिलो अर्धशतक हो । यस्तै, सावित्री धामीले २८ र सोनीले पाख्रिनले १९ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यो जितपछि विश्वकपमा छनोट हुने नेपालको सम्भावना जीवितै छ । नेपाल अहिले चार खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । नेपालले पाँचौं खेलमा मंगलबार कुवेतसँग खेल्ने तालिका छ ।
जारी प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्याण्डको सहभागिता छ । प्रतियोगिताको शीर्ष टोली आउँदो वर्ष हुने विश्वकपमा छनोट हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।