बागलुङको ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ ।
एक दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो । अहिले भने यहाँका अधिकांश घर सुनसान छन् । दशकौँदेखि बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती रित्तो बन्दै गएको हो । वि.सं २०१८ मा तिब्बतबाट आएका शरणार्थी पोखरा, काठमाडौँलगायत ठूला सहरमा जान थालेपछि बस्ती रित्तिन थालेको हो ।
ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नं ९ को स्यालपाखेमा बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्न थालेपछि यहाँ बनेका घर जीर्ण बन्दै गएका स्थानीय बताउँछन् ।
खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो सङ्ख्यामा शरणार्थी बस्ने गरेमा अहिले बसोबास गर्ने घट्दै गएका उनको भनाइ छ ।
नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जनाको मात्र बसोबास रहेको जानकारी दिइन् । आफ्नो बाउ र बाजे करिब ५३ वर्ष अघि यहाँ आएका भन्दै अहिले क्याम्पमा बुढापाका मात्र रहेका उनले उल्लेख गरिन् ।
राज्यबाट यहाँका शरणार्थीलाई आधारभूत सेवा उपलब्ध हुनुपर्नेमा भुदीले जोड दिइन् । क्याम्पमा बस्दै आएका हुनेखानेहरू सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै यहाँ बस्ने गरेका उनले बताइन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम हुँदै गएको छ । आर्थिक वर्ष २०७८ /७९ मा ५६, आव २०७९/८० मा ५३ र गत आवमा ५० जनाले परिचयपत्र नवीकरण गरेका छन् । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।