रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् । यो सम्झौता प्योङयाङले युक्रेनविरुद्ध लड्न हजारौं सैनिक पठाएको खबरका बीच आएको हो ।
पुटिनले जुन महिनामा उत्तर कोरियाको भ्रमणका क्रममा यो सम्झौता गरेका थिए । तर, लागू हुनका लागि रुसको संसदबाट पारित हुनुपर्ने र उनबाट हस्ताक्षर गरिनुपर्ने थियो ।
क्रेमलिनले शनिबार साँझ आफ्नो वेबसाइटमा सन्धि अनुमोदन गर्ने हस्ताक्षर गरिएको कानुन प्रकाशित गरेको छ । यो सम्झौताले शीतयुद्धभरि कम्युनिस्ट सहयोगी रहेका दुई राष्ट्रबीच महिनौँदेखिको गहिरो सुरक्षा सहयोगलाई औपचारिक रूप दिएको छ ।
उत्तर कोरिया युक्रेनमाथि रुसको पूर्ण–स्तरीय आक्रमणको सबैभन्दा मुखर र महत्त्वपूर्ण समर्थकमध्ये एक बनेको छ । हस्ताक्षरित सम्झौताले दुवै मुलुकलाई अर्को देशमाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ नगरी’ सैन्य सहायता प्रदान गर्न बाध्य बनाउँछ ।
यसले उनीहरूलाई पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न र संयुक्त राष्ट्रसंघमा आफ्ना स्थितिहरू समन्वय गर्न अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्न पनि प्रतिबद्ध गर्दछ ।
पुटिनले जुनमा यसलाई ‘महत्त्वपूर्ण दस्तावेज’ का रूपमा प्रशंसा गरेका थिए । गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै दक्षिण कोरिया, युक्रेन र पश्चिमी देशहरूले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसमा लगभग १० हजार सैनिक तैनाथ गरेको बताएका छन् ।
गत महिना तैनाथीका बारेमा सार्वजनिकरूपमा सोधिएको बेला पुटिनले यसलाई अस्वीकार भने गरेनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।