logo-img

बागमतीमा कांग्रेस-एमालेको संयन्त्र गठन, पालैपालो बैठकको संयोजन गर्ने निर्णय

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ ।

संयन्त्रमा दुई दलका तीन/तीन नेता रहेको संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिए । उनले आज नै संयन्त्र निर्माण गरी बैठक बसेको बताए ।  

इन्चार्ज भट्टराईका अनुसार कांग्रेसका तर्फबाट कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङ र पार्टीका बागमती प्रदेश उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल र बागमती प्रदेशमा एमाले संसदीय दलको नेता जगन्नाथ थपलिया रहेका छन् ।  

बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र निर्माण गर्न निर्देशन दिएको भट्टराईले जानकारी दिए ।

बैठकले संयन्त्रको बैठकको दुई दलले एक/एक महिना पालैपालो संयोजन गर्ने र मङ्सिर मसान्तसम्मको बैठकको संयोजन कांग्रेसले गर्ने सहमति भएको छ । 

यस्तै, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र एमालेका तर्फबाट एक/एकजना रहने, संयन्त्रको बैठक महिनाको कम्तीमा एकपटक अनिवार्य बस्ने र आवश्यकताअनुसार थप बैठक बस्न सक्ने निर्णय गरेको छ । 



दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीको संयुक्त बैठक आगामी मङ्सिर ३ गते बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय हेटौंडामा बसी बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने समेत निर्णय भएको इन्चार्ज भट्टराईले बताए । 

केन्द्रमा पनि दुई दलबीच सरकार सञ्चालन गर्नका लागि चार/चारजना रहेको संयन्त्र निर्माण गरिएको छ ।  



  • प्रकाशित मिति : कात्तिक २५, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया