गत असोज दोस्रो साताको बाढी पहिरोले जनधनको क्षति पुर्याएकाे पूर्ण विवरण छिटो पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ ।
धुलिखेलमा आज बसेको समितिको बैठकले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई यस्तो निर्देशन दिएको हो । हालसम्म स्थानीय तहले क्षतिको पूर्ण विवरण उपलब्ध नगराउँदा राहत तथा पुनः निर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन समस्या भएको त्यस अवसरमा जानकारी दिइएकाे थियो ।
प्राधिकरणको वेबसाइटमा क्षतिको पूर्ण विवरण ‘इन्ट्री’ गरी काभ्रेपलाञ्चोक प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षासँगैको बाढी पहिरोले यहाँका विभिन्न स्थानीय तहमा धेरै जनधनको क्षति भएको थियो । जिल्लामा ७९ को मृत्यु भएको थियो भने छ जना अझै बेपत्ता छन् ।
प्रारम्भिक विवरणअनुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार घरमा पूर्ण, सात हजार घरमा आंशिक, तीन दर्जन सरकारी भवन तथा सोही संख्यामा सार्वजनिक भवनमा पूर्ण क्षति भएको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।