logo-img

पुटिनलाई ट्रम्पको फोन, युक्रेनमा तनाव नबढाउन अनुरोध

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्ध नबढाउन आग्रह गरेका छन् । 

डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसमाथिको आश्चर्यजनक चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो एस्टेटबाट फोन गर्दै पुटिनसँग सो अनुरोध गरेको द वासिङ्टन पोस्टले जनाएको छ । 

ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भनेका छन्, ‘हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोन वार्तामा टिप्पणी गर्दैनौँ ।’ 

ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको सम्झना गराएको नाम नछाप्ने आधारमा कुरा गर्ने फोनवार्तासँग परिचित धेरै व्यक्तिलाई उद्धृत गर्दै पोस्टले बताएको छ ।

उनीहरूका अनुसार ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’ बारे थप कुराकानी गर्न चासो व्यक्त गरेका थिए । ट्रम्पले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग पनि फोनमा कुरा गरेको र दुवै नेता ‘युरोपमा शान्तिमा फर्कन सँगै मिलेर काम गर्न सहमत हुनुभएको’ सोल्सका प्रवक्ताले बताए ।

ट्रम्पले लडाईं चाँडै अन्त्य गर्न जोड दिँदै किएभका लागि वासिङ्टनको अर्बौं डलर सहयोगमा शङ्का व्यक्त गर्दै आएकाले उनको चुनावी जितले लगभग तीन वर्ष लामो युक्रेन द्वन्द्वमा ठूलो प्रभाव पार्ने देखिन्छ ।



युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गरे । कुराकानीमा रिपब्लिकनका अर्बपति समर्थक एलन मस्क पनि उल्लेखनीय रूपमा सहभागी भएका थिए । 

राष्ट्रपति जो बाइडेनको बाहिरिन लागेको डेमोक्रेटिक प्रशासनले २० जनवरीमा ट्रम्पको शपथग्रहण अघि युक्रेनलाई सक्दो सहयोग पठाउने पुष्टि गरेको छ ।
 
रुसी सरकारले ट्रम्पको फिर्तीमा सतर्क तर प्रायः सकारात्मक प्रतिक्रिया दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार भने, ‘सङ्केतहरू सकारात्मक छन्, उहाँले टकरावको नभई शान्तिको कुरा गरिरहनुभएको छ ।’  



रक्षा कम्पनी र विदेश नीतिका बाजहरूको भ्रष्ट युद्ध–समर्थक नेक्ससलाई सहयोग गर्छ भन्ने सङ्केत गर्दै ट्रम्प र उनका सहयोगीले युक्रेनका लागि अमेरिकी कोषको विरोध गरेका छन् ।  

युक्रेनमा कुनै पनि द्रुत सम्झौताले किएभलाई युक्रेनको दक्षिण र पूर्वमा रुसी आक्रमणकारीहरूलाई गुमाएको केही क्षेत्र हस्तान्तरण गर्न आवश्यक पर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पका पूर्वसल्लाहकार ब्रायन लान्जाले शनिबार बिबिसीलाई सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया फिर्ता पाउने कुनै पनि महत्त्वाकांक्षा युक्रेनले त्याग्नुपर्ने बताए । 

  • प्रकाशित मिति : कात्तिक २६, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया