logo-img

नेपाली बजारमा सुनको मूल्य कहिलेसम्म ओरालो ? [भिडियोसहित]

यही १५ कात्तिकमा नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुग्यो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भयो । त्यसपछि भने सुनको मूल्यमा गिरावट आउन थाल्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भयो । आइतबार प्रतितोला ५ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार १ हजार रुपैयाँ घटेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार अन्तर्राष्ट्रिय बजारमा  सुन प्रतिऔंस २६ सय ७२ अमेरिकी डलरमा कारोबार भयो । 

एक्कासि किन घट्यो मूल्य ?

अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै बुधबार सुनको मूल्यमा एकैपटक उच्च गिरावट आयो । यसको प्रभावस्वरूप नेपाली बजारमा समेत बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घट्यो ।

प्रतितोला १ लाख ७१ हजार रुपैयाँको ऐतिहासिक रेकर्डसम्म पुगेको सुन बिहीबार १ लाख ६४ हजार ५ सय रुपैयाँमा झरेको थियो । अहिले पनि निरन्तर सुनको मूल्यमा गिरावट आइरहेको छ ।  



अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सुनको मूल्यमा प्रभाव परेको बताउँछन्, नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य । ‘अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका कारण सुनको मूल्यमा गिरावट आएको हो । ट्रम्पले चुनावी अभियानमा म राष्ट्रपति भए भने विश्वमा युद्धको अन्त्य गराउँछु भन्ने भाषण गरेका थिए । त्यही कारणले अहिले सुनको मूल्यमा उच्च गिरावट आएको हो,’ उपाध्यक्ष बज्राचार्यले भने । 

ट्रम्पले राष्ट्रपतिको पद सम्हालेपछि सुनको मूल्यमा आकलन गर्न सकिने उनको तर्क छ । ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्न कम्तीमा ७४ दिन कुर्नुपर्ने हुन्छ । उनको सपथग्रहण समारोह २० जनवरीभन्दा पहिले हुने छैन । त्यतिन्जेलसम्म जो बाइडेन नै ह्वाइट हाउसमै रहनेछन् । 



ट्रमले राष्ट्रपतिको शपथ लिन अझै लामो समय भएकाले अहिले नै सुनको मूल्यमा आकलन गर्न नसकिने उपाध्यक्ष बज्राचार्यको तर्क छ । ‘ट्रम्पले अहिले युद्ध रोक्छु भन्ने हल्लाकै कारणले सुनको मूल्यमा गिरावट आएको हो । अब के हुन्छ भनेर २० जनवरीपछि मात्रै थाहा हुन्छ,’ बज्राचार्यले भने । 

ट्रम्प निर्वाचित हुनेबित्तिकै सुनको मूल्य घट्नुमा उनले लिएको ‘अमेरिका पहिलो’ नीतिको मनोविज्ञान कारण पनि रहेको बज्राचार्यको बुझाइ छ ।

जो बाइडेन र डेमोक्रेटिक उम्मेदवारले अन्तर्राष्ट्रिय राजनीतिमा मात्रै धेरै ध्यान दिने गरेको र अमेरिकाको आन्तरिक अर्थतन्त्र कमजोर हुँदै गएको अवस्थाबीच ट्रम्पको यो घोषणाले लगानीकर्ता उत्साहित भएको देखिन्छ । तर, ट्रम्पले आगामी दिनमा लिने नीतिले यो अवस्था दीर्घकालीनरूपमा जान्छ कि जाँदैन भन्ने निर्धारण हुने देखिन्छ । 

कसरी तोकिन्छ सुनको मूल्य ? 

हरेक दिन बजारमा सुनको मूल्य थपघट भइरहेको हुन्छ । केही दिनदेखिको ‘ट्रेन्ड’ हेर्ने हो भने सुनको मूल्य घट्दोक्रममा छ । प्रत्येक दि सुनको मूल्य कसरी तोकिन्छ ? धेरैलाई जिज्ञासा हुनु सक्छ । नेपालमा सुनको मूल्य निर्धारण सुनचाँदी व्यवसायी महासंघले तय गर्ने गरेको छ । यसका लागि महासंघले पाँच जनाको दर निर्धारण समिति बनाएको छ । 

उक्त समितिले हरेक दिन सुन–चाँदीको मूल्य निर्धारण गर्छ । नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे १० बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर सुनको मूल्य तय गरिन्छ । अहिले नेपाल सरकारले सुनको भन्सार दर २० प्रतिशत तोकेको छ । 

त्यस्तै, ०.५ प्रतिशत बैंकले नाफा राख्छ (नेपालमा सुनको आयात गर्न वाणिज्य बैंकले पाउँछन् । ०.५ प्रतिशत व्यवसायीले नाफा राख्ने गर्छन् । १० लाख रुपैयाँभन्दा बढीको सुन किन्दा भने अतिरिक्त २ प्रतिशत विलासी शुल्क तिर्नु पर्ने हुन्छ । 

मूल्य निर्धारण गर्ने क्रममा यो शुल्कको हिसाब गरिएको हुँदैन । अन्तर्राष्ट्रिय बजार मूल्यलाई नेपाली रुपैयाँमा रूपान्तरण गरेपछि सुन आयातमा लाग्ने भन्सार दर तथा बैंक र सुन व्यवसायीको नाफा जोडेर मूल्य तोकिन्छ । अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य निर्धारण हुने भए पनि नेपालमा भने दिनको एकपटक मात्र हुने गर्छ ।   

सुनको मूल्यमा किन घटबढ ? 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटबढ भएपछि मात्र त्यसको प्रभाव नेपालमा पर्ने गर्दछ । अर्थात् अन्तर्राष्ट्रिय बजारअनुसार नै नेपालमा सुनको मूल्य निर्धारण हुने गर्छ ।  

अमेरिका विश्वमा सबैभन्दा बढी सुन सञ्चय भएको देश भएकाले न्यूयोर्कको न्यूयोर्क मर्चेन्ट एक्सचेन्ज (एनवाईएमईएक्स) र कम्बोडिटी एक्सजेन्ज (सीएमईएक्स) मा किनबेच हुने भाउले सबैभन्दा बढी प्रभाव पार्दछ । त्यसपछि लण्डन मेटल एक्सचेन्ज र लण्डनको बुलियन  मार्केटको भाउ, हङकङको ‘चाइनिज गोल्ड एण्ड सिल्भर एक्सचेन्ज’ गोल्ड एक्सचेन्जको भाउ, ‘दुबई गोल्ड एन्ड कम्बोडिटी एक्सचेन्ज’ दुबईको कारोबारको मूल्यबाट सुनको बजारमा हुने उतारचढावले विश्वको सुनको भाउ निर्धारण हुन्छ । 

यस्तै, अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मरत्न बज्राचार्य बताउँछन् । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । 

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको उनको भनाइ छ । यस्तै, अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, विश्वका केन्द्रीय बैंकले विगतमा उच्च दरले खरिद बढाउनु, भूराजनीतिक द्वन्द्व र आर्थिक गतिविधिका कारण पनि सुनको मूल्य घटबढ भइरहेको जानकार बताउँछन् ।  

  • प्रकाशित मिति : कात्तिक २६, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया