कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले आज मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो ।
कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्न लागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । कतार एयरवेजको भैरहवा उडान साङ्केतिकरूपमा ठूलो उपलब्धि भएको उनले उल्लेख गरे ।
‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको आफैंमा नेपालको इन्टरनेशनल एयरपोर्टलाई अन्तर्राष्ट्रिय एरोनोटिकल समुदाय ‘इन्टरनेशनल एरोनोटिक कम्युनिटी’ले रिकनाईज गर्नु हो’, सूचना अधिकारी भूलले भने, ‘विश्वका ठूला एयरलाइन्स कतार, फलाई दुबई, थाई एयर एसिया, जजीरालगायत अन्तर्राष्ट्रिय एयरलाइन्सको भैरहबाट उडान हुनु रणनीतिक हिसाबले निकै महत्व हुन्छ । हामी (नेपालले) बनाएको अन्तर्राष्ट्रिय एयरपोर्ट ‘गेट वे’ को रुपमा विश्व प्रसिद्ध एयरलाइन्सले सेडुअल उडानको रुपमा प्रयोग गर्नु भनेको आर्थिक हिसाबले गौतमबुद्ध विमानस्थल र आसपासको क्षेत्र पनि आर्थिक सम्भावनायुक्त हुने हुनाले यसको विशेष महत्व छ ।’
सूचना अधिकारी भुलका अनुसार गौतमबुद्ध विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय उडानले हवाई भाडा नियन्त्रण गर्न मद्दत पुग्छ । नेपालले अधिकांश देशसँग गरेको हवाई सेवा सम्झौतामा इन्धनको मूल्य र प्रतिस्पर्धाको आधारमा हवाई भाडा निर्धारण गरिएको हुन्छ । स्वदेशी र विदेशी वायुसेवा कम्पनीको समन्वयमा प्रतिस्पर्धी उत्कृष्ट ‘एयरफेयर सिस्टम’ भएपछि स्वदेशी वायुसेवा कमजोर हुँदाखेरी विदेशी वायुसेवाको क्षमतामा निर्भर हुनुपर्दा विदेशी कम्पनीले हवाई भाडा बढाउदा बजार उनीहरूको पहुँचमा जान्छ ।
कतारले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्नेछ । कतार एयरवेजको भैरहवाका ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ । विमानस्थलमर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो । योसहित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या पाँच पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।