हरिबोधिनी एकादशीको अवसरमा तोरण टाँगेर पशुपतिनाथ सिँगारिएको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ।
एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने हरिबोधिनी एकादशी प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने गरिन्छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिने प्रचलन पनि रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।