नेपालकै पहिलो र लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४ औँ वार्षिकोत्सव मनाउँदै ʻफुडमाण्डु वानमार्ट’ सार्वजनिक गरेको छ । सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहकवर्गलाई आफ्नो मन पर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ । अहिले फुडमाण्डु काठमाडौं, पोखरा र चितवनमा पूर्ण रूपमा स्थापित भइसकेको छ ।
फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकहरूलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरू पनि घरमै डेलिभरी गर्नेछ । अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरूको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् । हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिटै नै यो सेवा काठमाडौं उपत्यकाभरी विस्तार गरिने कम्पनीले जनाएको छ ।
फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ʻफुडमाण्डुले ग्राहकवर्गको आवश्यकता अनुसार सेवालाई विकास गर्दै आएको छ । फुडमाण्डु वानमार्टको माध्यमबाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मन पर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहन्छौँ ।’
साथै १४ औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ʻफ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरुवात गर्दै ७० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ । यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज - फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् ।
यी सबै अफरहरू फुडमाण्डुको १४ वर्षको यात्राको उत्सव मनाउन र ग्राहकहरूलाई आभार व्यक्त गर्न तयार गरिएको जनाइएको छ । आगामी दिनमा पनि ग्राहकहरूको सन्तुष्टिलाई अझै माथि उठाउन र ग्राहक केन्द्रित अभियानहरू ल्याउँदै अघि बढ्न फुडमाण्डु प्रतिबद्ध रहेको निर्देशक अधिकारीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।