राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सामान चोरी भएका छन् ।
गत ११ र १२ असोजको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिनलगायतका संरचना मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्री चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी युनियनले जनाएको छ ।
युनियनले सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाबाट महत्वपूर्ण सामग्री शङ्कास्पद र रहस्यमय ढङ्गबाट चोरी भएको जनाउँदै आवश्यक छानबिन गरी दोषीउपर कडा कारबाही गर्न अनुरोधसमेत गरेको छ ।
‘तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौं करोड पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको सर्वविदितै छ । यसरी, अपर तामाकोशी कम्पनीको सम्पत्ति पटक–पटक चोरी निकासी हुनु रहस्यमय र शङ्कास्पद विषय भएकाले अपर तामाकोशीको सार्वजनिक सम्पत्ति दोहन र चोरी निकासी गर्नमा संलग्नमाथि आवश्यक छानबिन गरी दोषीउपर कडाभन्दा कडा कानुनी कारबाहीका लागि यस युनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिनलगायतका संरचना मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठले बताए ।
चोरी भएका ती सामग्री करोडौं मूल्य पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको सम्पत्ति भएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।