logo-img

उपनिर्वाचनमा कर्णालीका ४२ हजारभन्दा बढी मतदाता सहभागी हुँदै

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजारभन्दा बढी मतदाताले भाग लिँदैछन् । निर्वाचन आयोगले गरेको मतदाता अध्यावधिक विवरणअनुसार उपनिर्वाचन हुन लागेका कर्णालीका छ जिल्लाका आठ पदमा हुने निर्वाचनमा ४२ हजार दुई सय ७७ मतदाताले मतदान गर्ने छन् ।

कर्णालीमा एक गाउँपालिका र नगरपालिकामा एक/एक अध्यक्ष, एक नगरपालिका र गाउँपालिकामा एक/एक उपप्रमुख र उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ पदका लागि उपनिर्वाचन हुँदैछ ।

अध्यावधिक विवरणअनुसार अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको दैलेखको महाबु गाउँपालिकामा १२ हजार छ सय १४ जनाले निर्वाचनमा भाग लिँदैछन् । यस पालिकामा नौवटा निर्वाचन केन्द्र रहेका छन् ।

यस्तै, दैलेखको दुल्लु नगरपालिका-१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । त्यहाँ दुई हजार सात सय छ मतदाता रहेका निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी मनोज थापाले जानकारी दिए ।

यस्तै, जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी रामलाल प्याकुरेलका अनुसार नलगाड नगरपालिका उपप्रमुख पदका लागि हुने उपनिर्वाचनमा १६ हजार चार सय ४९ जनाले मतदानमा भाग लिनेछन् ।

जाजरकोटकै कुशे गाउँपालिका-७ को वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार तीन सय दुई जनाले मतदाताले भाग लिनेछन् । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको छ । त्यहाँ छ हजार आठ सय १० मतदाता रहेका छन् भने रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-५ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार चार सय ३४ जनाले भाग लिने मतदाता अध्यावधिक विवरणमा जनाइएको छ ।



यस्तै कालीकोटको तिलागुफा नगरपालिका-४ को वडाध्यक्ष पदको लागिसमेत निर्वाचन हुँदैछ । त्यहाँ छ सय नौ मतदाता रहेको कालीकोट जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को अध्यक्षको निर्वाचनमा तीन सय ५३ जना मतदाताले मतदानमा भाग लिनेछन् । वि.सं २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।




  • प्रकाशित मिति : कात्तिक २७, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया