logo-img

‘ड्रागन फ्रुट’ खेतीतर्फ किसान आकर्षित

वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय मकवानपुर जिल्लाका केही पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् ।

सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि मकवानपुरका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् ।

विशेषगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुर गढी गाउँपालिकामा ‘ड्रागन फ्रुट’ खेतीमा किसानको आकर्षण धेरै छ । खेत भाडामा लिएर समेत यसको खेती गर्न थालेका छन् ।

मकवानपुर गढी गाउँपालिकाको धादिङ, ज्यामिरे, डुम्रेकुना लगायतका क्षेत्र, हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी, हटिया लगायतका क्षेत्रमा यसको खेती गर्ने किसानहरू बढेका छन् ।




पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकारी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गर्नेहरू बढेका छन् ।

‘सुरुमा खेती गर्दा गाउँलेले यो सिउँडी जस्तो के खेती गरेको ? भनेर आलोचना पनि गर्नुभयो । पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरूले पनि खेतीप्रति चासो देखाउन थाले,’ मकवानपुर गढी ५ ज्यामिरेका नवराज हुमागाईँले भने । अहिले हेटौंडा बजारमा ‘ड्रागन फ्रुट’को माग पनि निकै बढेको बताए ।

वर्षमा दुई पटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्त्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको छ । अहिले स्थानीय क्षेत्रमा पनि यसको माग पहिलेको तुलनामा बढेको किसानहरू बताउँछन् । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरूले बताएका भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या आउँदैन।

यो फल एक पटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरीकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको किसानहरू बताउँछन् । 



  • प्रकाशित मिति : कात्तिक ३०, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया