logo-img

एनपिएलमा विदेशी खेलाडी : ‘गब्बर’ देखि गुप्टिलसम्म, अरू को-को अनुबन्ध ? [भिडियोसहित]
शिखरमाथि करोड लगानी

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो १ मंसिरदेखि आयोजना हुँदैछ । लिग सुरु हुन आधा महिना बाँकी रहँदा टिम अन्तिम गृहकार्यमा व्यस्त छन् । उनीहरूले लगभग विदेशी खेलाडीको कोटा पनि पूरा गरिसकेका छन् । 

डेब्यू सिजनको एनपिएलमा आठवटै टिमले समान ६ जनासम्म विदेशी खेलाडी भित्र्याउन पाउने छन् । यो सामग्री तयार पार्दासम्म ३६ विदेशी खेलाडी अनुबन्ध भएका छन् ।  

क्यानले डेब्यू सिजनमै एनपिएललाई भव्य र स्मरणीय बनाउन खोजेको छ । टिमहरूले पनि क्यानको तयारीमा साथ दिएका छन् । टोलीहरूबीचमा चर्चित विदेशी खेलाडी भित्र्याउन प्रतिस्पर्धा कायमै छ । यहीबीचमा कर्णाली याक्सले ‘गब्बर’ का नामले परिचित भारतीय टिमका पूर्वओपनर शिखर धवनलाई अनुबन्ध गरेको छ । 



कर्णालीले उनलाई प्रतिखेल ३० हजार डलर पारिश्रमिक दिने सम्झौताअनुसार चार खेलका लागि अनुबन्ध गरेको हो । अर्थात् शिखरले चार खेलमा डेढ करोडभन्दा बढी पारिश्रमिक पाउने छन् । अहिलेसम्म उनी एनपिएलमा अनुबन्धित हुने सर्वाधिक चर्चित खेलाडी हुन् । 

शिखर इण्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक सफल खेलाडीको सूचीमा पर्छन् । उनी आइपिएलमा सर्वाधिक रन बनाउने मामलामा दोस्रो स्थानमा छन् । शिखरले आइपिएलमा  पाँच फरक टोलीबाट २ सय २२ म्याच खेलेका छन्, जसमा उनले २ शतकसहित ६ हजार ७ सय ६९ रन बनाएका छन् । धवनको नाममा आइपिएलमा लगातार दुई शतक बनाउने पहिलो खेलाडीको रेकर्ड पनि छ । 

उनले भारतका लागि ३४ टेस्ट, १६७ ओडिआई र ६८ टी–२० आई खेलेका छन् । शिखर कर्णालीको जर्सीमा देखिने भएपछि एनपिएलले भारतमा पनि चर्चा पाइरहेको छ । उनीआबद्ध कर्णालीले विदेशी खेलाडीको रूपमा वेस्ट इण्डिजका चालडिक वाल्टन, पाकिस्तानका हुसेन तलात र हङकङका बाबर हायातलाई यसअघि अनुबन्ध गरिसकेको छ । कर्णालीमा सोमपाल कामी ‘मार्की प्लेयर’ रहेका छन् । 



एनपिएल खेल्ने अर्का विश्व चर्चित खेलाडी हुन्, न्यूजिल्याण्डका आक्रामक ओपनर मार्टिन गुप्टिल । उनी एनपिएलमा विराटनगर किंग्सको जर्सीमा देखिने छन् । विराटनगरले गुप्टिललाई अनुबन्ध गरेको मूल्य भने सार्वजनिक गरेको छैन । उनीसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । 

३८ वर्षीय गुप्टिलले मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाब किंग्सबाट आइपिएल खेलिसकेका छन् । साथै, उनीसँग बिग बास लिग (बिबिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) लगायत फ्रेन्चाइज लिगसमेत खेलेको अनुभव छ ।   

उनले न्यूजिल्याण्डका लागि ४७ टेस्ट, १९८ ओडिआई र १२२ टी–२० आई खेल खेलेका छन् । गुप्टिलले ओडिआईमा एकै खेलमा अविजित २ सय ३७ रन बनाएका छन् । साथै, उनको नाममा टी–२० आईमा दुई शतकसमेत छ ।

आक्रामक ब्याटिङ गर्न माहिर गुप्टिललाई एनपिएलमा देख्न पाइने भएपछि समर्थक उत्साहित छन् । सन्दीप लामिछाने ‘मार्की प्लेयर’ रहेको विराटनगरले हालसम्म विदेशी खेलाडीको रूपमा उनीसहित ओमानका अकिब इलियास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलमलाई भित्र्याएको छ ।   

यस्तै, एनपिएल खेल्ने अर्का विदेशी स्टार हुन्, इंग्ल्याण्डका रवि बोपारा । आइपिएल, बिबिएल, सिपिएलगायत चर्चित लिग खेलिसकेका उनले एनपिएल चितवन राइनोजबाट खेल्ने छन् । रविले इंग्ल्याण्डका लागि १२०  ओडिआई, ३८ टी–२० आई र १३ टेस्ट म्याच खेलेका छन् । 

रवि बोपारा

उनीआबद्ध चितवनमा विदेशी खेलाडीको रूपमा मार्चन्ट डे ल्यांग, इंग्ल्याण्डका ल्यूक, मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जोन निकोल लोफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल यसअघि नै अनुबन्धित भइसकेका छन् । 

यस्तै, अस्ट्रेलियन स्टार बेन कटिङले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने पक्का भएको छ । उनले पनि आइपिएल, बिबिएल, पिएसएल, सिपिएललगायत विश्वकपका प्रतिष्ठित लिग खेलिसकेका छन् ।

कटिङले अस्ट्रेलियाका लागि सात टी–२० आई र चार ओडिआई खेलेका छन् । उनीआबद्ध लुम्बिनीले अरू विदेशी खेलाडीको रूपमा इंग्ल्याण्डका टोम मुर्स, वेस्ट इण्डिजका रामोन सिमण्ड्स र भारतका उन्मुक्त चन्दलाई अनुबन्ध गरेको छ ।  

उन्मुक्त चन्द

त्यस्तै, एनपिएल खेल्ने विदेशी स्टारको सूचीमा न्यूजिल्याण्डका जिमी नीशम पनि रहेका छन् । उनलाई जनकपुर बोल्ट्सले अनुबन्ध गरेको हो । नीशमले न्यूजिल्याण्डका लागि ७९ टी–२० आई, ७६ ओडिआई र १२ टेस्ट म्याच खेलेका छन् । साथै, उनले आइपिएल, सिपिएल, बिबिएल, पिएसएललगायत चर्चित लिग पनि खेलिसकेका छन् ।

नीशम जोडिएको जनकपुरले अरू विदेशी खेलाडीको रूपमा अमेरिकाका जोशुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरु मिलान्था र पाकिस्तानका सोयब मक्शुदलाई अनुबन्ध गरेको छ । जनकपुरमा आसिफ शेख ‘मार्की प्लेयर’ रहेका छन् । 

यस्तै, एनपिएलमा देख्न पाइने अर्का ठूला नाम हुन्, न्यूजिल्याण्डका अलराउन्डर स्कट कुग्लाइन । उनी एनपिएलमा सुदूरपश्चिम रोयल्सको जर्सीमा देखिने छन् । कुग्लाइनसँग अन्तर्राष्ट्रिय क्रिकेटका साथै आइपिएल, सिपिएललगायत लिगको अनुभव पनि छ । उनले न्यूजिल्याण्डका लागि १८ टी–२० आई, तीन टेस्ट र दुई ओडिआई खेलेका छन् । 

कुग्लाइनसम्मिलित सुदूरपश्चिमले अरू विदेशी खेलाडीको रूपमा स्कटल्याण्डका ब्रान्डन म्याक्मलेन, इंग्ल्याण्डका सेफ जेब र यूएईका रोहन मुस्ताफालाई अनुबन्ध गरिसकेको छ । सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी ‘मार्की प्लेयर’ रहेका छन् । 

यस्तै, करण केसी ‘मार्की प्लेयर’ रहेको काठमाडौं गुर्खाजले हालसम्म विदेशी खेलाडीको रूपमा नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्याण्डका सन एस्किनान्जी, नामिबियाका गेहार्ड इरास्मस र इंग्ल्याण्डका ड्यान डौथेवेटलाई भित्र्याएको छ ।

गेहार्ड इरास्मस

त्यस्तै, अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डि लिडे, इंग्ल्याण्डका म्याट क्रिचले, वेस्ट इण्डिजका रेमन रेफर र स्कटल्याण्डका माइकल लिस्कले पोखरा एभेन्जर्सबाट एनपिएल खेल्ने छन् । पोखरामा कुशल भुर्तेल ‘मार्की प्लेयर’ रहेका छन् ।    

एनपिएल टिमहरू अझै केही विदेशी स्टार भित्र्याउने सोचमा छन् । उनीहरू पहिलो सिजनमा नोक्सान नै बेहोरे पनि व्यावसायिक क्रिकेटको विकासका निम्ति विदेशी स्टार भित्र्याउन प्रतिस्पर्धामा छन् । 

टिमहरूको तयारी हेर्दा डेब्यू सिजनको एनपिएल रोमाञ्चक हुने आकलन गरिएको छ । समर्थक पनि एनपिएल सुरु हुने दिनको व्यग्र प्रतीक्षामा छन् । पहिलो सिजनको एनपिएल आउँदो १५ मंसिरदेखि काठमाडौंमा सुरु हुने तालिका छ । 

  • प्रकाशित मिति : कात्तिक ३०, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया