logo-img

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख समेत रहेका वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको आज दिउँसो करिब २ बजे निधन भएको छ ।

८३ वर्षीय ढंगाना केही समयदेखि कलेजोसम्बन्धी रोगको उपचार गराइरहेका उनको आइतबार नयाँ बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका ढुंगानाले विभिन्न कालखण्डमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिमा प्रवेश गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवालगायतका विभिन्न पहिचान बनाएका छन् ।



२०२८ सालमा नेपाल बार एसोसिएसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेसामासमेत आबद्ध भएर काम गरेका थिए । नेपाली कांग्रेस पार्टीमा आबद्ध भएर सक्रिय राजनीतिमा होमिएका ढंगानाले ०४६/०४७ सालको आन्दोलनताका नेपाली कांग्रेसको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

२०४८ सालमा भएको प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनी काठमाडौंबाट चुनाव जित्ने कांग्रेसका एक्लो सांसद समेत बनेका थिए । त्यसपछि २०४८ देखि २०५१ साल सम्म उनले सभामुखको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि २०५१ सालमा भएको मध्यावधि चुनावमा पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पराजित भएपछि ढुंगानाले सक्रिय राजनीतिलाई थाती राख्दै शान्ति अभियानमा खुलेर लागेको उनी निकट बताउँछन् ।

माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन ढुंगानाले महत्वपूर्ण भूमिका खेलका छन् । सरकार–माओवादी शान्ति वार्ताका सहजकर्तासमेत रहेका ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।



गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगानासमेत सामिल थिए ।

नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निरन्तर लड्दै आएका ढुंगाना पछिल्लोपटक २०७४ सालमा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए ।

उक्त चुनावमा पनि सफलता हात पार्न नसकेपछि ढुंगाना पूर्णरूपमा राजनीतिबाट अलग भएका थिए । राज्य सत्ताको विपक्षीमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका उनी सत्तालाई खबरदारी गरिरहने प्रतिपक्षी नेता जस्ता थिए । स्वर्गीय ढंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

ओलीले लेखेका छन्, ‘२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !’ ​

यो पनि : 

संविधान खारेजीमा पर्ने खतरा छ : दमननाथ ढुंगाना [अन्तर्वार्ता]

यो राज्य प्रणाली संविधानअनुसार ठीकसँग चल्न नसकेको प्रमाणित भइसक्यो : दमननाथ ढुंगाना

  • प्रकाशित मिति : मंसिर २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया