logo-img

अफगानिस्तानविरुद्धको जितले ‘निराश’ नेपाली टिममा फर्कियो आत्मविश्वास
रोहितले तोडे गोलको खडेरी, दुई खेलमा चार खेलाडीको डेब्यू

नेपाली पुरुष फुटबल टिमले पछिल्लो एक वर्षको अवधिमा ९ खेल खेल्यो । तर, नेपालले जित भने एउटा खेलमा पनि निकाल्न सकेन । खेलाडी विदेश पलायन हुनु, एन्फा र प्रशिक्षकको कमजोर कार्यशैली तथा रणनीतिका कारण नेपालले लगातार ९ खेलमा हार बेहोर्‍यो ।

१३ महिनाको अवधिमा नेपालले ३१ गोलको सामना गर्दा ३ गोल मात्र फर्कायो । नेपालले १७ अक्टोबर २०२३ मा फिफा विश्वकप तथा एसियन कप छनोटको खेलमा लाओसलाई १–० गोलले हराएको थियो । दुई लेगको खेलमा समग्रमा नेपालले २–१ को जित निकालेर दोस्रो चरणको यात्रा गर्‍यो । दोस्रो चरणमा भने नेपालले जितको खाता खोल्न सकेन ।  

दोस्रो चरणमा नेपालले यूएईसँग ४–० र यमनसँग २–० को हार बेहोर्‍यो । नेपालले गत मार्चमा मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण खेल खेल्यो, जहाँ नेपाल ५–१ गोल अन्तरले पराजित भयो । त्यसलगत्तै नेपालले विश्वकप छनोटको खेलमा बहराइनसँगको दुई लेगमा क्रमशः ५–० र ३–० गोलको पराजय बेहोर्‍यो । 



यस्तै, नेपाल गत मेमा इंग्ल्याण्डको ‘सी’ टोलीसँगको मैत्रीपूर्ण खेलमा २–० गोलले पराजित भयो । त्यसपछि नेपालले गत जुनमा विश्वकप छनोटअन्तर्गत यूएईसँग ४–० को हार बेहोर्दा यमनसँग २–२ गोलको बराबरी खेल्यो । यमनसँगको बराबरीले पराजित यात्रा रोकिए पनि नेपालले खेल जित्न सकेको थिएन । 

यद्यपि शनिबार अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा २–० को जित निकाल्दै नेपाली टिमलाई केही राहत मिलेको छ । लगातारको हारले निराश भइरहेको टोलीलाई यो जितले केही आत्मविश्वास बढेको छ । 

फुटबलमा तुलनात्मकरूपमा नेपालभन्दा अफगानिस्तानमाथि छ । ऊ फिफा वरीयतामा पनि नेपालभन्दा अगाडि छ । ताजा वरीयतामा अफगानिस्तान १५१औँ तथा नेपाल १७६औँ स्थानमा छ । 

अफगानिस्तानले गत मार्चमा भारतलाई २–१ ले हराएको थियो । शनिबार भने ऊ नेपालविरुद्ध स्तब्ध भयो । योसँगै नेपालले हारको यात्रा तोड्न सफल भयो । अफगानिस्तानविरुद्ध नेपालले १३ वर्षपछि जित निकालेको हो ।  



फाइल तस्बिर

दशरथ रंगशालामा भएको उक्त खेलमा नेपालको जितमा भरत खवासले निर्णायक गोल गरे । त्यसपछि खेलिएको दुई महत्वपूर्ण खेलमा भने अफगानिस्तानविरुद्ध नेपालले हार बेहोर्‍यो ​।

सन् २०११ मा भारतको दिल्लीमा भएको साफ सेमिफाइनल र सन् २०१३ मा काठमाडौं आयोजित साफ सेमिफाइनलमा अफगानिस्तानसँग नेपालले हार बेहोरेको हो । यसपालि भने अफगानी टिमविरुद्ध नेपालले उत्कृष्ट कमब्याक गर्‍यो ।

ताजिकिस्तानमा भएको यस खेलमा नेपालको जितमा जिलेस्पीजंग कार्की र रोहित चन्दले समान एक गोल गरे । अफगानिस्तानविरुद्ध जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाए । 

७८औँ मिनेटमा रोहित चन्दले गोल गर्दै नेपाललाई २–० को सहज जित दिलाए । अन्तर्राष्ट्रिय फुटबलमा उनको यो पहिलो गोल हो । रोहितले आफ्नो ९२औँ खेलमा गोलको खडेरी तोडेका हुन् । उनलाई यसअघि गोल गर्ने अवसर नमिलेको भने होइन । तर, रोहित त्यसमा पटक–पटक चुके ।

सन् २०१३ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तानविरुद्ध रोहितले दुईपटक पेनाल्टी पाए । तर, उनी दुवैपटक असफल भए । रोहित पेनाल्टीमा चुक्दा नेपाल फाइनल पुग्न असफल भयो ।

यसपटक भने उनले उक्त हारको बदला लिन नेपालको जितमा महत्वपूर्ण भूमिका खेले । रोहितले सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए ।

फाइल तस्बिर

हाल पनि टिमका महत्वपूर्ण सदस्य रहेका रोहितले नेपालका लागि यू–१९ र यू–२३ फुटबल खेल्दै करियर सुरु गरेका थिए । उनले सन् २०१२ देखि इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका छन् ।  

दुई खेलमा चार खेलाडीको डेब्यू 

ताजिकिस्तान र अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले चार खेलाडीलाई डेब्यू गराएको छ । नेपालले यी दुई खेलमा निराजन धामी, आशिष राई, अभिषेक वाइबा र रनदीप पौडेललाई डेब्यू गराएको हो । 

उनीहरूमध्ये निराजनले ताजिकिस्तान तथा आशिष, अभिषेक र रनदीपले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका हुन् । 

साफ यू–२० च्याम्पियनसिपमा नेपाललाई फाइनल पुर्‍याउन तीन गोल गरेका निराजनले ताजिकिस्तानविरुद्ध ७४औँ मिनेटमा जेलेस्पीजंग कार्कीको स्थान लिएका थिए ।  उनी डेब्यू गरेको खेलमा नेपालले ४–० को फराकिलो हार बेहोर्‍यो । 

यस्तै, प्रशिक्षक नवीन न्यौपानेले आशिष, अभिषेक र रनदीपलाई अफगानिस्तानविरुद्ध दोस्रो हाफको इन्जुरी समयमा डेब्यु गराए । 

  • प्रकाशित मिति : मंसिर २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया