सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्तै उनले आज सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको जानकारी दिए । उनले भने, ‘सरकारले प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ । आज उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुन्छ । उहाँको निधनमा शोक जनाउन आज मंसिर ३ गते सार्वजनिक बिदा दिने उक्त दिन नेपालभरका र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने पनि निर्णय भएको छ ।’
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।