काठमाडौं महानगरपालिकाले शुक्रबार सत्तारुढ दल नेकपा एमालेलाई एक लाख जरिवाना गरायो । जागरण सभाका नाममा काठमाडौंको दरबारमार्गस्थित सडक फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।
जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै एमालेलाई जरिवाना तोकिएको महानगरले जनाएको छ । महानगरका अनुसार फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको हो ।
जरिवाना तोकेको सूचना देखेपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन्द्र शाह (बालेन) को चर्को आलोचना गरेका छन् । महानगरको यो पत्रले बालेन एमालेविरुद्ध परिचालित रहेको रहेको पनि पोखरेलले आरोप लगाएका छन् ।
‘काठमाण्डौं महानगरका मेयर बालेन नेकपा (एमाले) का विरुद्ध परिचालित छन् भन्ने कुरा शुक्रबारको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा,’ महासचिव पोखरेलले भनेका छन् ।
उनले बालेनले स्टण्टवाजीका लागि एमालेलाई जरिवाना गरेको पनि उल्लेख गरेका छन् ।
‘जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिबेला स्वयम् सेवकहरू कार्यक्रम थलोमै फोहोर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो । तर, पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समयअगावै सार्वजनिक गरियो । एमाले आफ्नो कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई,’ पोखरेलले लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।