जो पशुपतिमा स्केच बनाउँछन्
अशाेकले अाफूले बनाएकाे स्केच प्रधानमन्त्री केपी शर्मा अाेलीलाई गिफ्ट गरिसकेका छन् ।

हरेक दिन काठमाडौं सहरबाट एक हुल मानिसहरु पशुपति पुग्छन् । देवहरुका पनि देव महादेवको दर्शन गर्न होस् या पाशुपत क्षेत्रकै आर्यघाटमा अन्तिम संस्कार गर्न किन नहोस्, पशुपतिमा भीड कहिल्यै टुट्दैन ।

तर, कमै मान्छेहरु होलान् जो दैनिक पाशुपत क्षेत्र पुग्छन् ।

अपवाद हुन्, अशोक थपलिया । शनिबार होस् या अरु छुट्टीका दिन अशोक पशुपति क्षेत्रमा पुग्छन् । उनीसँगै हुन्छ, चित्र कोर्न बाँकी क्यानभास । स्केचका लागि केही पेन्सिल, केही ब्रस र स्मरणहरु । 

पशुपति खासमा अशोकका लागि ‘अफिस’ हो । त्यसैले त उनी दैनिक थलीबाट विहानै पशुपति आइपुग्छन्, फिजाउँछन् आफ्नो स्केच बुक अनि तान्छन् धर्साहरु । अशोक सानैदेखि पशुपति क्षेत्रमै हुर्किए, बढे । त्यसैले अहिले थली बस्ने भए पनि उनी पशुपतिलाई नै आफ्नो अफिस बनाएर अगाडि बढिरहेका छन् । झन् अब त उनले पशुपतिमै बसेर स्केच बनाउन थालेको पनि १२ वर्ष भइसकेको छ । 

‘यसैबाट मेरो सबै घर खर्च चलेको छ,’ शनिबार मध्यदिन भेटिएका अशोकले भने, ‘छोरीलाई पढाउन सकेको छु, आफूलाई मन पर्ने विधाबाट जीवन निर्वाह गरेको छु ।’

तीन कक्षाबाट ‘केरमेट’ सुरु गरेका अशोकले १२ कक्षासम्म फाइन आर्ट्सलाई नै आफ्नो विषय बनाए । त्यसपछि अशोकको जीवनमा जे सोचिएको थियो, त्यो भएन । जे सोचिएको थिएन, त्यही भयो । ‘आखिर जीवन भनेको नै त्यस्तै रहेछ,’ उनले भने, ‘आफूले सोचेको जस्तो सबै हुँदैन रहेछ ।’



स्केच बुकमा ‘फाइन’ रेखाहरु कोर्न सक्ने अशोक अगाडि मान्छे भएर स्केच बनाउन परेको खण्डमा तीन सय रुपैयाँ लिन्छन् र फोटोबाट कसैको स्केच तयार गर्नु परे सात सय । 

दैनिक पाँचवटा सम्म स्केच बनाउने अशोकले चाहेको भए काठमाडौंको कुनै कुनामा सटर भाडामा लिएर पनि स्केच बनाउन सक्छन् । तर, अब यी १२ वर्षले उनलाई आफ्नो काम पशुपति मै गर्न सहज बनाइसकेको छ ।



‘आखिर यहाँ पनि काम नै त गरेको हुँ,’ उनले भने, ‘मलाई बाटोमा बसेर काम गरिरहेको छु भन्नेमा कुनै अप्ठ्यारो लाग्दैन, अरुले के भन्छन् भन्ने पनि मतलव छैन । कहाँ सबैका कुरा सुन्न सम्भव हुन्छ र ?’

अशोकसँग कुराकानी गर्न थालेको लामो समय भएको थिएन । तर, उनले बनाइरहेको स्केच बुकको पाना पल्टाए । दोस्रो स्केच सुरु गरे । 

‘यति सजिलो र यति छिटो पो गर्नुहुन्छ ?’ प्रश्न स्वभाविक रुपमा जन्मियो ।

‘होइन नि,’ अशोकले जवाफ दिन पनि लामो समय लगाएनन्, ‘चार पाँच घन्टासम्म लाग्छ । अस्ती एउटा चिनियाँको स्केच बनाउँदा त झन् आधा दिन नै लागेको थियो ।’

तर, मान्छे नै अगाडि भयो भने अशोकलाई स्केच कोर्न सहज हुन्छ । ‘फोटोबाट चाहिँ अलिक गाह्रो हुन्छ,’ उनी हासे, ‘फोटोमा आकृति नै सानो हुन्छ । अनि पानामा उतार्न पनि गाह्रो ।’

जीवनका कयौं आयामहरु छिचोलेका मानिसहरुको अनुहारको स्केच बनाउने अशोकको जीवनको यात्रा पनि कम संघर्षमय छैन । तर, उनकै शब्दमा भन्ने हो भने उनलाई सधैं सडकले साथ दिइरहेको छ । 

‘अहिले सडकमा बसेर स्केच बनाएको छु,’ उनले भने, ‘सडक सधैं मेरो साथमा छ, हिजो मैले सडकमै पत्रिका बेचेँ, सडकमै घडी बेचेँ, अहिले सडकमै खाली क्यानभासहरु भरेर जीवन तन्काइरहेको छु ।’

अशोकलाई स्केचको अर्डर पशुपति घुम्न पुग्नेहरु पनि दिने गरेका छन् । तर, यतिमै सिमित छैनन्, अशोक । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवालगायतका नेताहरुको पनि स्केच गरेर ‘गिफ्ट’ गरेका छन् ।

  • प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार १९:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया